वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलले कृषि तथा पुष्प व्यवसायको प्रवर्द्धन गर्न आयातमा कडाई गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय फलफूल विकास केन्द्रले आयोजना गरेको १६ औँ वागवानी कार्यशाला गोष्ठीमा उहाँले केन्द्रिय सरकारले कृषि तथा पुष्पजन्य वस्तुको आयातमा कडाई गर्ने नीति लिनुपर्ने बताउनुभएको हो । हाल कृषि तथा पुष्प व्यवसाय घट्दो अवस्थामा रहेको भन्दै उहाँले यसलाई पुनर्जीवित गर्न विदेशी वस्तुको आयातमा नियन्त्रण आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि उपज, फलफूल तथा पुष्पजन्य वस्तु बाहिरबाट आउँदा नेपालका किसान समस्यामा परेको बताउनु भयो । आयातमा कडाईको लागि प्रदेश सरकारले संघीय सरकारसंग लविङ गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपाली किसानको संरक्षणका लागि सरकारले कडा नीति लिनुपर्ने उहाँको भनाई छ । उहाँले कृषि तथा कृषि तथा पुष्पजन्य व्यवसाय प्रवद्र्धनको लागि तीन वटै तहका सरकारको समन्वय आवश्यक रहेको पनि बताउनु भयो । प्रदेश सरकारले मात्रै यसको प्रवद्र्धन गर्न नसक्ने उहाँको भनाई छ । तरपनि प्रदेशभित्र रहेको कृषि तथा पुष्प व्यवसायलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा दिएर बजेट विनियोजन गरेको जानकारी दिनुभयो । यस क्षेत्रमा अनुसन्धान विस्तार गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अझै प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उहाँको भनाई छ । उहाँले रोजगारी सिर्जनाका लागि पुष्प तथा कृषि क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गर्न आन्तरिक अवसरको पहिचान र विकास आवश्यक रहेको उहाँको भनाई छ । रोजगारीको नयाँ क्षेत्र कृषि तथा पुष्प व्यवसाय हुने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालजस्तै जैविक विविधता भएको मुलुकमा हामीले संसारलाई वितरण गर्न सक्ने फुल व्यवसाय, अन्न व्यवसायको बीउको खानी हुनुपर्ने हो । संसारलाई पुग्ने बीउ हामीले वितरण गर्नसक्नुपर्ने हो, त्यति धेरै बहुआयामिक भएको विविधतायुक्त जलवायू हामीसंग छ । पुष्पको कुरा पनि त्यही हो । तर हामीले यसलाई कम महत्व दिएका छौँ, अब यसमा ध्यान दिन जरुरी छ । वागमती प्रदेश सरकारले पुष्प व्यवसायको अनुसन्धानको क्षेत्रलाई बढाउन बजेट राखेका छौँ, आगामी वर्षको बजेटमा हामीले यसलाई बढाउनेछौँ । यो क्षेत्रमा रोजगारी सिर्जना गर्ने सम्भवना हामीले अलि बढि देखेका छौँ । रोजगारीको लागी हाम्रा युवाहरु खाडीमा गएका छन्, तर हामीले हाम्रो देशभित्रै रोजगारी सिर्जना गर्ने अवसरहरुको पहिचान राम्रोसँग गर्न सकिरहेका छैनौ । रोजगारीको अवसर पहिचान गर्ने महत्वपूर्ण क्षेत्र पुष्प व्यवसाय हो । हाम्रो देशको कृषि व्यवसा, पुष्प व्यवसाय पछिल्लो समय घट्दो अवस्थामा छ । यो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि केन्द्र सरकारले नै विदेशबाट आउने वस्तु नियन्त्रण गर्न कडा नीति लिनुपर्नेछ । यो भन्दै गर्दा विश्व व्यापारका कुरा आउला तर नेपाली किसानको रक्षाको लागी नेपाल सरकारले कडा नीति बनाउन आवश्यक छ ।’
मन्त्री पौडेलले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण देशले बीउ, अन्न र पुष्प उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्नसक्ने ठूलो सम्भावना रहेको बताउनु भयो । तर यसको पर्याप्त उपयोग हुन नसकेको उहाँको भनाई छ । संसारलाई पुग्ने बीउ उत्पादन गर्ने क्षमता भएपनि त्यसलाई प्राथमिकता दिन नसकेको उहाँले बताउनु भयो । – न्युज एजेन्सी नेपाल