नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरुले दिएका सुझावको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उहाँको योजना थियो । सभापति शेरचनले समितिको कामलाई प्रभावकारी बनाउनका लागि विषयविज्ञहरुसहितको उपसमिति तत्काल बनाउने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी डिफरेन्स सेक्टरमा मान्छेहरु, डिफरेन्ट विज्ञता भएका मानिसहरु सँगै जोडेका छौ । अहिले हामी पक्ष र विपक्ष भन्दा पनि टिम नेपाल भनेर अगाडि जान्छौँ भनेर म त्यस्तै किसिमले अघि बढ्न चाहन्छु । हामी स्वास्थ्यकर्मी छौँ धेरै जना । डक्टर्स, नर्सहरु छौँ । हेल्थ पोलिसी मेकरहरु पनि हुनुहुन्छ । एजुकेशन सेक्टर कन्ट्रिब्युट गरेका मान्छेहरु हुनुहुन्छ । त्यस्तै गरेर सूचनामा पनि आईटी सेक्टरमा भन्ने सूचनाबाट नै आएका व्यक्तित्वहरु पनि हुुनुहुन्छ । उहाँहरुलाई ल्याएर सव कमिटीको आधारमा, विज्ञताको आधारमा डिभाईड गरेर इफेक्टिभली हामी अगाडि बढ्छौँ ।’
सभापति शेरचनले समितिलाई पक्ष र विपक्षमा भन्दा पनि नेपालको पक्षमा काम गराउने आफूले चाहेको पनि स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल