‘एउटा प्रश्न तपाईंलाई, ‘आमा’ भन्दा महान के छ ?’ (तस्बिरहरू)

.

आज आमाको मुख हेर्ने दिन अर्थात ‘मातातीर्थ औँसी’ । आमा भएकाहरूले मिठो खान दिएर र नभएकाहरूले मातातीर्थ पुगेर श्रद्धापूर्वक सम्झना गरी यो दिन हर्षोल्लास र भावुकताका साथ मनाइँदैछ । यसै अवसरमा बिहानैदेखि काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ कुण्डमा श्रद्धालुहरूको घुइँचो लागेको छ । मातातीर्थ कुण्ड परिसर आज भक्तजनहरूको उपस्थितिमा निकै गुञ्जायमान छ । कुण्डमा स्नान गर्ने, पूजा गर्ने र आफ्नी दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा तर्पण दिनेहरूको ठूलो भीड छ । मानिसहरूका अनुहारमा आमाप्रतिको अगाध माया, सम्झना र श्रद्धा प्रष्ट झल्किन्छ । कुण्ड वरिपरि श्रद्धालुहरूले श्रद्धापूर्वक फलफूल, मिठाई, पैसा लगायतका सामग्रीहरू चढाएर पूजाआजा गरिरहेका छन् । धुप, बत्ती र विभिन्न प्रकारका नैवेद्यले परिसर नै सुगन्धित र पवित्र बनेको छ ।
मातातीर्थ परिसरमा राखिएको एक भावुक सन्देशपूर्ण बोर्डले सबैको ध्यान खिचेको छ । त्यहाँ लेखिएको छः ‘एउटा प्रश्न तपाईंलाई, ‘आमा’ भन्दा महान के छ ?’। यो प्रश्नले आजको दिनको महत्वलाई अझ बढी घनिभूत बनाएको छ र मानिसहरूलाई आमाको निःस्वार्थ प्रेमको सम्झना गराएको छ ।
मातातीर्थ औँसी धार्मिक रूपमा मात्र नभएर सामाजिक र पारिवारिक एकताको रूपमा पनि लिइन्छ । आजको दिनले मानिसलाई जन्म दिने आमाको योगदानको कदर गर्न र जीवित छिन् भने सेवा गर्न र दिवङ्गत छिन् भने श्रद्धापूर्वक सम्झना गर्न प्रेरित गरेको छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल