सरकारले सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनलाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएको छ ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनका लागि पनि त्यस्ता खालको सम्पदाहरुको उचित संरक्षण र संवद्र्धनका लागि आवश्यक नीति, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । सचिव निरौलाले सांस्कृतिक सम्पदाहरुले नेपालको विशिष्ट पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराउँदै विश्व पर्यटन बजारमा नेपाललाई पृथक र आकर्षक गन्तव्यको रुपमा स्थापित गराउन पनि ठूलो योगदान पु¥याएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रको परिप्रेक्ष्यमा अमूर्त साँस्कृतिक सम्पदा नेपालको विशिष्ट पहिचान निर्माण गर्ने प्रमुख आधारहरु मध्य एक हो । सांस्कृतिक विविधता र जीवित परम्पराहरुले नेपालको विश्व पर्यटन बजारमा पृथक र आकर्षक गन्तव्यको रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । यस सन्दर्भमा दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनका लागि यस्ता सम्पदाको संरक्षण र संवद्र्धन अपरिहार्य रहेको छ । मन्त्रालय यस दिशामा आवश्यक नीति, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउन प्रतिवद्ध रहेको छ ।’
सचिव निरौलाले सांस्कृतिक सम्पदाहरुको उचित संरक्षणका लागि समुदायको अग्रसरता अनिवार्य रहेको तथ्य पनि उल्लेख गर्नुभयो ।–न्युज एजेन्सी नेपाल