प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले ढकालको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले संसदीय समितिहरू दलगत सीमाभन्दा माथि उठेर काम गर्ने थलो भएको भएको भन्दै सोहीअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समिति सदस्यहरूको सिर्जनात्मक सुझाव र खबरदारीलाई आत्मसात गर्दै आफ्नो विगतको अनुभवका आधारमा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । विगतमा सरकारको बारम्बार परिवर्तन र राजनीतिक अस्थिरताका कारण समितिहरू प्रभावकारी हुन नसकेको बताउनु भयो । अहिले स्थिर सरकार बनेकाले सरकारलाई सहयोग गर्ने गरी समितिको भूमिका अझ सशक्त हुने उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘संसदीय समितिमा दलहरुभन्दा बाहिर निस्किएर बहसहरु हुने गर्दछ । त्यसकारण माननीयज्यूहरुको सिर्जनात्मक सुझाव र खबरदारीलाई ग्रहण गर्दै मेरो विगतको अनुभवको आधारमा यो समितिको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाउने छु । विगतमा संसदीय समितिहरुले प्रभावकारी रुपमा काम गर्न नसक्नुको मुख्य कारण ९–९ महिनामा सरकार परिवर्तन हुनु र राजनीतिक अस्थिरताको कारण थियो होला नि त । अहिले स्थिर सरकार बनेको छ । त्यसकारण सरकारलाई सघाउनको लागि समितिको भूमिका महत्वपूर्ण हुन्छ । यसअघि जस्तो समिति छायाँमा बस्दैन ।’
मुलुकमा सुशासन कायम गर्नको लागि राज्यका सम्पूर्ण निकायहरुको प्रभावकारी अनुगमन गरिने पनि उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल