बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विभागीय टोली त्रिभूवन आर्मी क्लवले अपराजित रहँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
वीरगञ्जमा शुक्रवार भएको फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जितसँगै तेस्रो पल्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको हो । आर्मीको जितमा बसिरले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनले दुई विकेटका साथै ४५ रनको योगदान पनि दिए । बसिर प्लेअर अफ दी फाइनल पनि भए । आर्मी यसअघि सन् २०१७ संयुक्त विजेता (नेपाल पुलिस क्लव) र सन् २०२१ मा विजेता भएको थियो । आठौं संस्करण भने आर्मी अपराजित रहँदै च्याम्पियन भयो । लिगचरणमा ९ मध्ये आर्मीले आठ खेल जितेको थियो । एक खेल भने वर्षाका कारण हुन सकेन । नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले खराब ब्याटिङ ग¥यो ।
सुदूरपश्चिमले एक सय ६२ रनको सामान्य लक्ष्य दियो । त्यो लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । सामान्य लक्ष्य पछ्याएको आर्मीको शुरुवात खराब रह्यो । आर्मीले पहिलो ओभरमा कप्तान विनोद भण्डारी २ रन र तेस्रो ओभरमा भीम सार्कीलाई ४ रनमा नै गुमाउन पुग्यो । त्यसपछि अर्का ओपनर तृतराज दास र कुशल मल्लले इनिङ अगाडि बढाउने प्रयास गरे । तृतराज ३१ रन र कुशल १७ रन बनाएर पभेलियन फर्किए । १०.३ ओभरमा आर्मी ५६÷४ को अवस्थामा थियो । तर त्यसपछि बसिर र इमरान शेखले पाँचौं विकेटका लागि ९६ रनको बलियो इनिङ खेल्दै जित दिलाए । बसिर ४५ रनमा आउट हुँदा इमरान शेख ४६ रनमा अविजित रहे । बसिरले ५६ बलमा चार चौका प्रहार गरे ।
इमरानले ४६ बलमा समान दुई चौका र छक्का हिर्काए । सुदूरपश्चिमको बलिङमा हेमन्त धामीले दुई तथा विकास आग्री, अशोक धामी र कप्तान शेर मल्लले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा एक सय ६१ रनको सामान्य योगफलमै अलआउट हुन पुग्यो । शिर्ष पाँच ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट भए र सुदूरपश्चिमले बिर्सनलायक शुरुवात ग¥यो । १०.३ ओभरमा सुदूरपश्चिम ३१÷५ को नाजुक अवस्थामा थियो । त्यस पछिका तीन ब्याटर किरण ठगुन्ना, नारायण जोशी र अशोक धामीले इनिङ समाल्ने प्रयास गरे ।
किरणले ४२ बलमा ३५ र नारायणले ३४ बलमा २९ रन बनाए । आठौं नम्बरमा ब्याटिङ गरेका अशोकले ४६ बलमा ४३ रन जोड्दै इनिङ समाले । हेमन्त १६ रन जोड्दै सुदूरपश्चिमको इनिङ उकास्ने प्रयास गरे । आर्मीको बलिङमा आकाश चन्द र शाहब आलमले समान तीन तथा बसिरले दुई तथा कुशल मल्लले एक विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशयी बनाए । यस प्रतियोगितामा लिगको शिर्ष दुई स्थानमा रहँदै पहिलोपल्ट फाइनलमा पुगे पनि सुदूरपश्चिमले उपाधि भिडन्तमा खराब ब्याटिङ ग¥यो । उपाधि जित्ने सुदूरपश्चिमको लक्ष्य पूरा हुन सकेन । लिगमा पनि सुदूरपश्चिम आर्मीसँग सात विकेटले पराजित भएको थियो ।
विजेता आर्मीले नगद १० लाख र उपविजेता सुदूरपश्चिमले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । यसपल्ट प्रतियोगितामा एपिएफ, मधेस, नेपाल पुलिस क्लव र लुम्बिनी क्रमशः तेस्रोदेखि छैटौं स्थानमा रहँदै आगामी संस्करण हुने जय ट्रफी इलाइट कप (दुई दिवसीय) का लागि छनोट भएको छ ।
लुम्बिनीका सन्तोष उत्कृष्ट
लुम्बिनी प्रदेशका युवा क्रिकेटर सन्तोष यादव यस आठौं संस्करणको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भएका छन् ।
अलराउण्ड प्रदर्शन गरेका सन्तोष सर्वोत्कृष्ट खेलाडी हुँदा उनको टोली लुम्बिनी लिगमा छैटौं भएको थियो । यो सफलता पुलिसका दिनेश खरेलले पाउन सक्ने अनुमान गरिए पनि सन्तोष सफल भएका हुन् । सन्तोषले प्रतियोगितामा कुल ९ खेल खेल्दै २६५ रन र २१ विकेट पनि लिएका थिए । उनी बलिङतर्पm सर्वाधिक विकेटकर्ताको सूचीमा चौथो र ब्याटिङतर्पm सर्वाधिक रनकर्ताको सूचीमा दशौं स्थानमा थिए । यस क्रममा उनले दुई अर्धशतकसहित ३३.१२ को औसतमा ब्याटिङ र ३.९२ को इकोनोमीमा बलिङ गरेका थिए । फाइनल खेलमा अलराउण्ड प्रदर्शन गरेका आर्मीका बसिर अहमद प्लेयर अफ द फाइनल भए ।
यस प्रतियोगिता सुदूरपश्चिमका मध्यम गतिका बलर हेमन्त धामी उत्कृष्ट बलर र गण्डकी प्रदेशका अर्जुन कुमाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । हेमन्तले उत्कृष्ट बलिङ गर्दै आफ्नो टोलीलाई फाइनलसम्म पु¥याएका थिए । फाइनलमा पनि राम्रो प्रदर्शन गरेका हेमन्त उत्कृष्ट बलर भए । कुल १० खेलबाट २७ विकेट लिँदै हेमन्त यस प्रतियोगिताको सर्वाधिक विकेटकर्ताको सूचीमा रहे । दोस्रो स्थानका सन्दीप लामिछाने २५ विकेटसहित दोस्रो स्थानमा रहे । यस प्रतियोगिताका उत्कृष्ट ब्याटर अर्जुनले समान दुई शतक र अर्धशतकसहित कुल ५०४ रन जोडे । अर्जुन एकै संस्करणमा पाँच रन पूरा गर्ने पहिलो खेलाडी बने । मधेस प्रदेशका आशिक बैथा उदीयमान खेलाडी भए । –न्युज एजेन्सी नेपाल