विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकताः कार्यवाहक प्रमुख डंगोल

.

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता भएको बताउनुभएको छ ।
महानगरको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिहेको उल्लेख गर्दै  उहाँले यसको प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षामा लगानी बढाउनु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई शिक्षामा गुणस्तर ल्याउनेगरी काम गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले महानगरभित्रका सबै विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेको उल्लेख गर्दै त्यसलाई आधुनिक शिक्षण विधिसँग जोड्न विद्यालयलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । हामी विद्यालय शिक्षाको क्षेत्रमा नयाँ नयाँ कार्यक्रमहरु गर्दै आइरहेका छौँ । त्यति मात्र नभई हामीले शिक्षाको गुणस्तरका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत लगानी गरिरहेका छौँ । अब पूर्वाधारको त्यस्तो समस्या छैन । केही विद्यालयमा उपलब्ध पूर्वाधारले पुग्दैन भन्ने कुरा पनि आएका छन् । ती कुराहरु पनि हामीले सम्बोधन गर्ने नै छौँ । म अहिले सबै विद्यालयहरुलाई के आग्रह गर्न चाहान्छु भने हामीसँग उपलब्ध पूर्वाधारको सदुपयोग गरौँ । विद्यालयमा उपलब्ध सबै प्रकारका पूर्वाधारको सही सदुपयोग गर्ने जिम्मा शिक्षक र अभिभावकको नै हो । हामीले आधुनिक शिक्षाको कुरा गरिरहेका छौँ । सबै विद्यालयमा डिजिटल बोर्ड पुगिसकेका छन् । ती डिजिटल बोर्डहरु पहिलेका ब्ल्याक बोर्डको रिप्लेसमेन्ट मात्रै होइन । ती बोर्डहरुलाई प्रभावकारी गुणस्तरीय शिक्षासँग जोड्न म हार्दिक अनुरोध गर्दछु । शिक्षकको तालिमका लागि पनि महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । शिक्षकको क्षमता विकासमा कञ्जुस्याइँ गर्दैनौँ ।’
शिक्षकको क्षमता विकासका लागि महानगरले निरन्तर तालिमका कार्यक्रम समेत सञ्चालन गरिरहेको उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल