हिरासत र कारागारमा हुने मृत्युका घटनामा उच्च जोखिम मानेर अनुसन्धान गर्न सांसद विश्वकर्माको माग

.

नेपाली काँग्रेसकी सांसद मनमाया विश्वकर्माले हिरासत तथा कारागारहरूमा हुने मृत्युका घटनालाई ‘उच्च जोखिम’मा राखेर अनुसन्धान गर्न माग गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले मानव अधिकारको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मानव अधिकारको कार्यान्वयनमा देखिएका कमजोरीहरूले यसको उपहास गरिरहेको भन्दै नागरिकले कहिले अधिकारको पूर्ण अनुभूति गर्न पाउँछन् भन्ने प्रश्न उठाउनु भयो ।  सांसद विश्वकर्माले कारागार र बाल सुधार गृहहरूको अवस्थालाई सरकारले आफ्नो मुख्य कार्यदिशा र नीतिमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । हिरासत र जेलमा हुने मृत्युका घटनाहरूमा दलित, सीमान्तकृत र पछाडि पारिएका वर्गको सङ्ख्या बढी देखिएको भन्दै उहाँले यस्ता मुद्दाहरूमा गम्भीर र उच्चस्तरीय अनुसन्धानको खाँचो औंल्याउनु भयो । पछाडि पारिएका समुदायलाई न्यायको पहुँचमा पु¥याउन समितिले सरकारलाई आवश्यक दबाब दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘विगतका कार्यहरूको मूल्याङ्कन गर्दै अबका दिनमा बाल सुधार गृह र बन्दीगृहहरूमा उच्च शतर्कता अपनाउन आवश्यक छ । सरकारले यी क्षेत्रहरूलाई संवेदनशीलताका साथ आफ्ना नीतिहरूमा निर्धारण गर्नुपर्छ ।’
मानव अधिकार र न्यायको सन्दर्भमा संसदीय समिति थप संवेदनशील र प्रभावकारी हुनुपर्ने धारणा राख्दै सांसद विश्वकर्माले पीडितहरूलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल