निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले काम गर्ने वातावरण सरकारले गर्नुपर्छः ढकाल

.

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले सरकारले हालै पारित गरेको निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति स्वागत गर्दै उहाँले निजी क्षेत्र सुरक्षित र सम्मानित नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताउनु भयो ।

उहाँले सरकारले ल्याएको निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीतिले उद्यमीहरूको मनोबल बढाउनुका साथै भौतिक र नीतिगत सुरक्षाको ग्यारेन्टी गर्ने विश्वास व्यक्त गर्नुभयो । गत फागुन २१ गतेको निर्वाचनपछि झण्डै दुई तिहाइको स्थायी सरकार गठन हुनुलाई अध्यक्ष ढकालले मुलुकको विकासका लागि अभूतपूर्व अवसर रहेको बताउनु भयो । ढकालले आफूहरुले नीतिगत स्थायित्वका लागि सर्वदलीय सहमतिको खोजी गरिरहेका बेला अहिले संसदमा एकै दलको झन्डै दुई तिहाइको उपस्थिति ठूलो अवसर रहेको बताउनुभयो । उहाँले स्थायित्वलाई मुलुकको विकास र सबै क्षेत्रमा स्थायित्व प्रदान गर्न सदुपयोग गरिनुपर्ने बताउनु भयो ।

ढकालले मुलुकको जनसांख्यिक लाभ र छिमेकी चीन तथा भारतको ठूलो बजारको उपयोग गर्नुपर्नेमा जोड दिँदै ढकालले देशभित्रै उच्च ज्यालासहितको रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । ढकालकाअनुसार हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिव ५ लाख युवालाई रोजगारी दिने क्षमता अहिले नेपालको निजी क्षेत्रमा छैन । नयाँ र पुराना गरी वर्षमा करिव ७ लाख युवा काम खोज्दै विदेशिइरहेका छन् । यो निराशालाई आशामा बदल्न लगानी बढाउनैपर्छ । उनले विगत ६० वर्षमा दक्षिण कोरियाले ५० डलरबाट प्रतिव्यक्ति आय ४० हजार डलर पु¥याउँदा नेपाल भने ५० डलरबाट १४ सय डलरमा मात्रै सीमित हुनुले हामीले प्रगति गरे पनि पर्याप्त हुन नसकेको उहाँले बताउनु भयो । स्वदेशी पुँजी परिचालन गरी ‘नेपालमा केही हुँदैन’ भन्ने भाष्य चिर्न महासंघको पहलमा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना भई काम सुरु भइसकेको ढकालले जानकारी दिनुभयो । यस कम्पनीमार्फत ४० देखि ५० अर्ब रुपैयाँसम्मका ठूला आयोजना सञ्चालन गर्न सकिने उहाँले बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो–‘देशभित्रै मर्यादित र उच्च ज्याला सहीतको रोजगारीका अवसर जबसम्म हामी सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिदैन । भदौको आन्दोलन त्यसैको प्रतिफल हो । रोजगारी प्रदान गर्न सरकारको सिमितता छ । तर हरेक बर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँचलाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । नयाँ र पुराना गरि बर्षको करिब ७ लाख युवा काम खोज्दै विदेशिने गरेका छन् । सन १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० डलर र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन । भुमण्डलीकरणले नागरिकको आवश्यकता र चाहना मात्रै बढेन क्षमता अनुसारको काम पाउन सारा संसार खुला भयो । त्यसैले ठुला अर्थतन्त्रमा हामीले काम पाउने भयौ । तर आप्mनो अर्थतन्त्र ठूलो बनाउन सकेनौ । तीन दशकमा नेपालको अर्थतन्त्र औसत ४ प्रतिशतले वृद्धि भएको छ । विदेशी लगानी वार्षिक रुपमा कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत काट्न सकेको छैन् । २०४८ पछि अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन आए । त्यतिबेलाका नीतिहरुको जगमा हाम्रो अर्थतन्त्र अहिलेसम्म चलिरहेको छ । २०७२ पछि पनि यो अवसर आयो । सात प्रतिशत माथि अर्थतन्त्रको वृद्धि भयो । त्यसपछि स्थायित्व हुन सकेन । कोभिड १९ महामारीले अर्थतन्त्र थिचियो । कोभिड लगत्तै झण्डै ६ प्रतिशत आर्थिक वृद्धि भयो । सुधारका पर्याप्त सम्भावना देखिएका थिए । तर बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझै चलायमान हुन दिएको छैन । अहिले मध्यपूर्वमा देखिएको संकटले आप्mनो अर्थतन्त्र ठूलो बनाउनुपर्ने महत्व झन देखिएको छ । संकटले पर्यटन उद्योग प्रभावित भएको छ । इन्धनमा भएको भारी वृद्धिले लागत बढाउँदै लगेको छ । लम्बिदै गएमा रेमिट्यान्समा प्रभाव परि अर्थतन्त्र नै संकटमा पर्ने देखिन्छ । अहिले अभूतपूर्व अवसर छ, धेरै हदसम्म अर्थतन्त्रलाई आत्मनिर्भर बनाऔ । उच्च ज्याला सहितको रोजगारी सिर्जना निजी क्षेत्रलाई सुरक्षित भै सम्मानित रुपमा काम गर्ने वातावरण बनाऔ, किनभने ८६ प्रतिशत रोजगारी अहिले पनि निजी क्षेत्रले नै दिइरहेको छ । सरकारका सबै निकायहरुको मुख्य उद्देश्य लगानीको वातावरण बनाउने नै हुनुपर्छ । तर, अत्यधिक नियमनका कारण त्यो हुन सकेको छैन । अहिलेको हाम्रो चासो नागरिकको सहज जीवनयापन हो । मुलुकको बिकासका लागि सबैले आय आर्जनका अवसर पाउनु पहिलो शर्त हो । कमाउनका लागि पैसा, वुद्धि, विवेक सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ । पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन, सरकार र निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी व्यवसायी र नागरिकबाट उठ्छ ।सर्वप्रथम म सबै सरोकारवालाहरुलाई निजी क्षेत्रको महत्वलाई बुझिदिन आग्रह गर्दछु । जुन मुलुकले यो बुझ्यो त्यसको प्रगति तिव्र भएको छ । बंगलादेश, रुवान्डा, क्याम्बोडिया, भियतनाम, लाओस जो हामी जस्तै थिए, अहिले प्रगति पथमा हामीलाई उछिन्दैछन । यो सम्भव छ, निजी क्षेत्र अगाडि बढेपछि भारतमा प्रति बर्ष डेढ प्रतिशतका दरले गरिबी घटिरहेको छ । बीस बर्षमा करिब ५० करोड नागरिक गरिबीको रेखाबाट माथि उठेका छन् । हामीसंगै एकैपटक विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियामा प्रत्यक्ष वैदेशिक लगानी नेपालभन्दा दश गुणा बढि भित्रिने गरेको छ । यदि यी देशले सक्छन भने हामी किन सक्दैनौ । अब नयाँ चरणको आर्थिक सुधारको बेला भएको बिषय मैले माथि पनि उठाएँ । महासंघको आग्रहमा नयाँ चरणको सुधारको बिषयलाई आत्मसाथ गरि तत्कालीन सरकारले आयोग गठन गर्यो । यसका सुझाव आएका छन् । माननीय अर्थमन्त्रीज्यूले कार्यान्वयन पनि शुरु गरिसक्नु भएको छ । अबको सुधार कानुनी स्थायित्व, सदाचारको प्रवद्र्धन, प्रविधिको उच्चतम् प्रयोग मार्फत नेपालका सबै क्षेत्रका सम्भावनाहरुको (ऊर्जा, कृषि, पर्यटन, खनिज) भरपूर प्रयोग गर्दै अगाडि बढ्ने अपेक्षा गरेको छु । लगानी बढाउने हाम्रो मुख्य ध्येय हुनुपर्छ । बागलुङको ढोरपाटन वैठकले नै महासंघले सहजीकरण गर्ने गरि १० अर्ब रुपैयाँ चुक्ता पुँजीको लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । स्वदेशी पुँजी संकलन गरी लगानी गर्न स्थापित नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भई काम पनि शुरु भैसकेको छ । १० अर्ब पुँजीलाई इक्वीटीको रुपमा मान्ने हो भने करिब ४० देखि ५० अर्ब सम्मका ठूला आयोजना पनि अगाडि बढाउन सकिन्छ ।’

साथै, पछिल्लो तीन वर्षमा भारत, चीन, युएई, कतार लगायतका देशमा बिजनेश समिट आयोजना गरिएको र विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको उहाँले बताउनु भयो । वैदेशिक लगानी भित्राउन सुशासन पहिलो सर्त भएको बताउँदै अध्यक्ष ढकालले यसका लागि प्रविधिको उच्चतम प्रयोग र सदाचारको आवश्यकता औंल्याउनु भयो ।

ढकालले नागरिक एपबाटै व्यवसाय दर्तादेखि सम्पूर्ण सरकारी कामहरू गर्न सकियोस् भन्ने आफूहरुको माग रहेको समेत बताउनु भयो । अध्यक्ष ढकालले कुल रोजगारीको ८६ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको महत्व बुझेर काम गर्न सबै सरोकारवालालाई आग्रह गरे। उनले बंगलादेश, भियतनाम, कम्बोडिया र भारत जस्ता देशहरूले निजी क्षेत्रलाई प्रोत्साहन गरेकै कारण आर्थिक फड्को मारेको भन्दै नेपालले पनि यो अवसर गुमाउन नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल