काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)ले सुकुम्बासीलाई निःशुल्क उपचार गर्ने भएको छ ।
भक्तपुरको दुवाकोटमा रहेको केएमसी युनिट–२ ले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो । काठमाडौं उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउने क्रममा त्यहाँ बसोवास गर्ने नागरिकहरूमा स्वास्थ्य समस्या बढ्दै गएको केएमसीले जनाएको छ । वर्षायाम शुरु भएसँगै यस्तो समस्या थप जटिल बन्दै गएकोले मानवीय संवेदनालाई मध्यनजर गर्दै केएमसी निःशुल्क उपचार सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।अस्पतालकाअनुसार उपत्यकासहित देशका विभिन्न स्थानबाट प्रभावित भएका बिरामीहरूले उक्त अस्पतालमा पुगेर सेवा लिन सक्नेछन् । अस्पतालले बिरामीलाई सहज रूपमा अस्पतालसम्म पु¥याउन सहयोग गर्न पनि नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेको छ । कलेजका अनुसार औषधि तथा औषधिजन्य सामग्रीवाहेक अस्पतालमा उपलब्ध अन्य सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ । – न्युज एजेन्सी नेपाल