राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरुको उपस्थिति न्युन देखिएको छ ।
रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएका हुन् । रास्वपाका १ सय ८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजानिक रुपमा नै असन्तुष्टी जनाउनुभएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदहरुले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउनु भयो । उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भुमिकाबाट विमुख हुने संकेत भएको बताउनु भयो । उहाँले पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताउनु भयो । तर यस्ता कार्यक्रममा सबै सांसद उपस्थित नहुनु गम्भिर विषय रहेको उहाँको भनाई छ । पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो । जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकोले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । अब राजनीति केवल नाराले मात्रै नचल्ने भन्दै उहाँले क्षमता, अध्ययन र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के ग¥यो’ भन्ने आधारमा मूल्यांकन गर्न थालेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले केवल नयाँ अनुहार होइन, नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेका छन् । राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसंग जोड्ने जनअपेक्षा अहिले बलियो बनेको छ । यस्तो समयमा जनताबाट प्राप्त विश्वासलाई परिणाममा बदल्ने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । हामीले राजनीतिमा नयाँ पुस्ताको उर्जा, पारदर्शिता, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास गर्नुपर्ने आवश्यकता छ । संसद र संसदीय समितिको प्रभावकारी भुमिका, पार्टी र सरकारबीचको समन्वय, संसदीय मर्यादा, आचरण र विषयगत तथ्यमा आधारित बहस, जनतासंग जोडिएको उत्तरदायी व्यवहार तथा प्रभावकारी नेतृत्व विकासको अपेक्षा हामीले राखेका छौँ । आजको राजनीति केवल नाराले चल्दैन, क्षमता, तयारी, अध्ययन र परिणामले चल्दछ । जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्यो भन्ने मुल्यांकन गर्न थालेका छन् । त्यसैले हामी सबैले आफुलाई निरन्तर सक्षम, जिम्मेवार र जनमुखि बनाउदै लैजान अति आवश्यक रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई आफ्नो मुल आधार बनाएको छ । पार्टीको वाचा पत्र, सरकारका १ सय प्राथमिकता तथा जनतासंग गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सक्षम सांसद र सशक्त संसद आवश्यक रहेको छ । यो प्रशिक्षण केवल औपचारिक कार्यक्रम होइन, यो आत्ममुल्यांकन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसर पनि हो । हामीले आयोजना गरेको यो कार्यक्रम ११ बजेबाट शुरु गर्ने तय गरिएको थियो । संसदीय दलमा निरन्तर सूचना प्रवाह भएको थियो तर मैले सबै सांसदहरु यहाँ उपस्थित भएको देखेको छैन । संसदीय दलको उप–नेताको हैसियतमा म यहाँहरुलाई केही अनुरोध गर्न चाहन्छु, पार्टीले बिशेष गरि संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदहरुको क्षमता बिकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भुमिकाबाट बिमुख हुने प्रयास गर्नु हो । पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मुल्यांकन गरिनेछ ।’
उहाँले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्यांकन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदहरूलाई आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रम केवल सुरुवात मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्रहरू स्थगित गरिएको बताउनु भयो । – न्युज एजेन्सी नेपाल