नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले मुलुकको रक्षा र आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीले नयाँ पहलकदमी लिनु अनिवार्य रहेको बताउनुभएको छ ।
बुधवार पार्टीको भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताका जटिलताहरूका कारण समयमै भेला आयोजना गर्नुपरेको स्पष्ट पार्नुभएको हो । नीति तथा कार्यक्रम र बजेट निर्माणको समय नजिकिँदै गर्दा भेला बोलाउनु उपयुक्त हो कि होइन भन्ने जिज्ञासा उठे पनि पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो आवश्यक रहेको उहाँको तर्क छ । नेता सापकोटाले भेलाबाट निस्कने निष्कर्ष र संयुक्त संश्लेषणले पार्टीमा नयाँ आत्मविश्वास र संकल्प पैदा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थितिका लागि अहिलेदेखि नै ठोस पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बजेट र नीति तथा कार्यक्रम ल्याउन अझै १५ दिनको समय बाँकी छ । यो समयमा हामीले पार्टीभित्र सिक्ने र सिकाउने प्रक्रियालाई अघि बढाएका हौँ । यसले हाम्रो कार्यसम्पादनमा कुनै प्रतिकूल असर पार्दैन । हामीले नयाँ ढङ्गले पहलकदमी नलिए देशको रक्षा हुन सक्दैन । त्यसैले यो भेला र यसपछिका निर्णयहरूले राष्ट्रिय राजनीतिमा दूरगामी महत्व राख्नेछन् ।’
सापकोटाले विगतका अनुभवहरूबाट पाठ सिक्दै नयाँ कार्यशैलीका साथ अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल