अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
अफ्रिकी मुलुकहरूमा इबोला भाइरस संक्रमण देखिएपछि नेपाल सरकारले इबोला भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तिब्र बनाएको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै इबोला जोखिम न्युनिकरणका लािग आावश्यक तयारी अघि बढाएको बताउनु भयो । उहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायहरूको समीक्षा गर्दै मातहतका अस्पताल, प्रयोगशाला र रोग नियन्त्रणसम्बन्धी निकायसँग समन्वय भइरहेको बताउनु भयो । उहाँले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनु भयो । उहाँले सम्भावित प्रवेशबिन्दुहरुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमणसम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालहरूसँग समन्वय गरिरहेको बताउनु भयो । सहयाक प्रवक्ता अधिकारीले स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राष्ट्रियस्तरको इमरजेन्सी मेडिकल टिमलाई समेत सक्रिय बनाएर इबोला नियन्त्रण र जोखिम न्यूनिकरणको काम भइरहेको बताउनुभयो । उहाँले डब्लुएचओको अन्तरराष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार इबोला संक्रमण भित्रिन नदिन विभिन्न देशहरुसँग सूचना आदानप्रदान र सहकार्य भइरहेको समेत बताउनु भयो । उहाँले तत्कालको लागि नेपालमा इबोला संक्रमणको भय नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘इबोला भाइरस अफ्रिकी देशहरु कंगो र युगाण्डा लगायतका देशहरुमा बढी देखिएपछि विश्वव्यापी रुपमा त्यसको आँकलन गरेर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्यको आपतकालीन अवस्था भएको भन्दै स्वास्थ्य मन्त्रालयसँग त्यही प्रकारको समन्वय भएको छ । हामीले इबोला भाइरसको परिक्षणको क्षमता, हामीसँग भएका स्वास्थ्यकर्मीहरु त्यसको लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न ?, उपचार गर्नुपर्यो भने कसरी गर्न सकिन्छ ? लगायतका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका अस्पतालहरु, प्रयोगशालाहरु र रोग नियन्त्रण गर्ने महाशाखासँग समन्वय गरेर काम अगाडि बढाएको छ । अहिले हामीले संक्रमित भित्रिनसक्ने सम्भावित प्रवेशबिन्दुहरुमा स्वास्थ्यकर्मीहरुलाई खटाएका छौँ । उहाँहरुले अभिमुखिकरण गर्ने, संक्रमण भएको अवस्थामा के गर्ने ?, परिक्षण कहाँ र कसरी गर्न सकिन्छ भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर त्यसैअनुसारको व्यवस्थापन गर्ने र सम्बन्धीत सरुवा रोग अस्पतालहरुलाई पनि त्यसैअनुसार सहजिकरण गर्ने काम हामीले गरेका छौँ । यसका अतिरिक्त राष्ट्रियस्तरमा रहेको इमरजेन्सी मेडिकल टिमलाई सक्रिय बनाउने गर्ने काम गरिरहेका छौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकज्युको संयोजकत्वमा रहेको उक्त टिमले अरु महाशाखाहरुसँग समन्वय गरेर काम गर्ने गरेको छ । यसका सम्बन्धमा डब्लूएचओको स्वास्थ्यसम्बनधी नियमावलीअनुसार सबै देशहरुसँग समन्वय र सहकार्यमा हामी छौँ । र त्यसैअनुसारको विवरणहरुअनुसार संक्रमणको जोखिम भएको क्षेत्रमा गएका सबै सुरक्षाकर्मी समेत क्वारेन्टाइनमा बसेर आउने गर्नुभएको छ । त्यसकारण अहिले नै हामीले आत्तिहाल्नुपर्ने अवस्था छैन । ’
इबोला भाइरस कसरी सर्छ ?
इबोला भाइरस विभिन्न जंगली जनावरबाट पहिलो पटक मानिसमा सरेको हो । जंगली जनावरको मासु खाने तथा बढी सम्पर्कमा आउने मानिसहरुमा भाइरस संक्रमित जंगली जनावरको रगत, अन्य जैविक रस, मासु आदिबाट भाइरस मानिसमा सर्दछ । खासगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग, दुम्सी तथा सबैभन्दा बढी चमेराबाट यो भाइरस मानिसमा सर्दछ । खासगरी रगत, अन्य जैविक रस, काटिएका अंगहरुबीचको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । साथै यौन सम्पर्कका बेला आउने विर्य तथा योनीरसको माध्यमबाट समेत इबोला भाइरस सर्दछ ।
इबोला भाइरसका लक्षणहरु के के हुन् ?
उच्च ज्वरो
टाउको दुख्ने
जोर्नी तथा मांसपेशीमा पीडा हुने
घाँटी तथा पेट दुख्ने
कमजोरी महशुस हुने
भोक हराउने
सास फेर्न गाह्रो हुने
भाइरसको आक्रमण बढ्दै जाँदा संक्रमितलाई बान्ता आउने, पखाला लाग्ने, छालामा डावर तथा रातो धब्बा आउने, मृगौला तथा कलेजोले काम गर्न छाड्ने जस्ता जटिल लक्षण देखिन्छन् । नाक, आँखा तथा कान, योनी, गिजाबाट समेत रगत बग्छ भने खकारमा समेत रगत देखिन थाल्छ । आन्द्राबाट समेत रगत बग्न थाल्छ । धेरै रगत बगेर समेत रोगीको मृत्यु हुने खतरा हुन्छ ।
उपचार, रोकथाम र नियन्त्रण
रगतको परीक्षण पश्चात इबोला भाइरस पत्ता लगाउन सकिन्छ । यद्यपि भाइरसको कुनै प्रभावकारी औषधि भने छैन । धेरै भ्याक्सिनहरु परीक्षण गरिएका भएपनि अहिलेसम्म कुनैपनि खोप आधिकारिक रुपमा प्रयोगमा ल्याइएको छैन । त्यसैले रोगीलाई औषधि भन्दा पनि स्याहारको आवश्यकता हुन्छ । रोगीलाई ढाडस दिने, पर्याप्त मात्रामा पानी खुवाउने, पानीसँगै नुन, चिनीहरु समेत घोलेर खुवाउनुपर्छ । –न्युज एजेन्सी नेपाल