इण्डोनेसियामा दोस्रो विश्वयुद्धकालीन बम विष्फोटः पाँच जनाको मृत्यु, तीन बेपत्ता

.

इण्डोनेसियाको पूर्वी पपुवा प्रान्तमा दोस्रो विश्वयुद्धकालीन एक शक्तिशाली बम विष्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । बाक्लो बस्ती भएको गाउँमा उक्त विष्फोट भएको हो । विष्फोटका कारण नजिकै रहेका घरहरूमा ठूलो क्षति पुगेको छ । घटनास्थलमा अझै पनि अन्य विष्फोटक पदार्थहरू हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा खोजी तथा उद्धार कार्य स्थगित गरिएको प्रहरीले जनाएको छ । विष्फोटपछि अधिकारीहरूले उक्त क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणका लागि निषेध गरेका छन् । पूर्ण सुरक्षाको सुनिश्चितता नभएसम्म स्थानीयलाई त्यस क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिइएको छ । बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य सोमबार पुनः शुरु गरिने बताइएको छ । दोस्रो विश्वयुद्धको समयमा सन् १९४२ मा जापानले इन्डोनेसियामा आक्रमण गरी तीन वर्षभन्दा बढी समय आफ्नो कब्जामा राखेको थियो । सोही समयका ठूलो परिमाणका विस्फोटक पदार्थहरू यस दक्षिणपूर्वी एसियाली मुलुकका विभिन्न भागमा अझै पनि सुरक्षा चुनौतीका रूपमा बाँकी रहेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।