नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल

.

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट विकास कुटनीतितर्फ लैजान चाहेको बताउनुभएको छ ।
आईतवार नयाँदिल्लीस्थित नेपाली दुतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल–भारत सम्बन्धलाई पुराना भू–राजनीतिक दृष्टिकोणबाट नभई विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको बताउनु भयो । उहाँले नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भएर परिणाममुखी कुटनीतिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो । उहाँले भारत भ्रमणको क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भारतसँग छलफल भएको जानकारी दिनुभयो । मन्त्री खनालका अनुसार भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी तथा आर्थिक सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो । भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । नेपाल–भारतबीच व्यक्ति–व्यक्ति (पीटुपी) सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आएकोले यसले दुवै देशका नागरिक, पर्यटक र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाई छ । त्यस्तै, भारतीय सहयोगमा निर्माण गरिएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना औपचारिक रूपमा हस्तान्तरण भएको तथा काठमाडौं विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारी भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म नेपालमा उदाएको एक नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गर्छु । हाम्रो उदय नागरिकहरूले दिएको ऐतिहासिक जनादेशमा आधारित छ, जसको केन्द्रमा सुशासन, योग्यतामूलक प्रणाली र प्रत्यक्ष जवाफदेहिता रहेको छ । नयाँ पुस्ताको नेतृत्व भएकाले हामीसँग एउटा विशेष शक्ति छ—हामी विगतका बोझबाट मुक्त छौँ । हामी भारतलाई २०औँ शताब्दीको भू–राजनीतिक दृष्टिकोणबाट हेर्न चाहँदैनौँ। राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट विकास कूटनीतितर्फ लैजान चाहन्छ । हामी भारतलाई खुला हृदय, स्पष्ट दृष्टि र नेपालको आर्थिक रूपान्तरणको एउटै स्पष्ट उद्देश्यसहित हेर्छौँ। सीमापार हामीले एउटा उदाउँदो भारत देखिरहेका छौँ, विश्वमञ्चमा तीव्र आर्थिक वृद्धि र प्रविधिको शक्तिका रूपमा आफूलाई पुनर्परिभाषित गरेको भारत । हामी यही आकांक्षी, प्रविधिमैत्री र कार्यान्वयनमुखी भारतसँग सहकार्य गर्न चाहन्छौँ । त्यसैगरी हामीसँग पनि आकांक्षी नेपालको ऊर्जा छ। हाम्रो मुख्य जिम्मेवारी कागजमा गरिएका पुराना वाचाहरू र जमिनमा देखिनुपर्ने वास्तविकताबीचको दूरी हटाउनु हो । हामी अमूर्त राजनीतिक घोषणाबाट नाप्न सकिने, जनजीवन परिवर्तन गर्ने परिणामतर्फ अघि बढ्न चाहन्छौँ ।’
पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा लागू गरिएको भन्सार नियमबारे सोधिएको प्रश्नमा मन्त्री खनालले भारतबाट ल्याउन पाइने सामानको सीमासम्बन्धी व्यवस्था सीमावर्ती नागरिकलाई लक्षित नभई खुला सीमाको दुरुपयोग रोक्नका लागि ल्याइएको स्पष्ट पार्नुभयो । मन्त्री खनालले भारतीय नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यको अनुभव लिन आग्रह गर्नुभयो । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारत भ्रमण जानुभएको थियो । –न्युज एजेन्सी नेपाल