विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

.

काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन ) कास्कीले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निबन्ध लेखन, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

आइतबार एकता आवासीय विद्यालयमा आयोजित प्रतियोगितामा संस्थामा आबद्ध विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्राथमिक तह (कक्षा १ देखि ५) का विद्यार्थीहरूका लागि चित्रकला, आधारभूत तह (कक्षा ६ देखि ८) का लागि निबन्ध लेखन तथा माध्यमिक तह (कक्षा ९ र १०) का लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो।

चित्रकला प्रतियोगितामा पिनाकल एकेडेमीकी सृष्टि क्षत्री प्रथम, रिलायन्स पब्लिक स्कूलका बसन्त चौधरी द्वितीय, शिलशिला स्कूलकी सफलता कँडेल तृतीय तथा लिटल फ्लावर स्कूलकी साम्भवी श्रेष्ठ चतुर्थ भइन्।

त्यसैगरी, निबन्ध लेखन प्रतियोगितामा लिटल फ्लावरकी जस्मिन भुजेल प्रथम, पिनाकल एकेडेमीकी दिया पुन द्वितीय, एकता आवासीय विद्यालयका प्रवीण पौडेल तृतीय तथा मर्निङ ग्लोरीकी डेजी आचार्य चतुर्थ स्थान हासिल गर्न सफल भइन्।

वक्तृत्वकला प्रतियोगितातर्फ पिनाकल एकेडेमीकी सोफिया परियार प्रथम, डायनामिक एकेडेमीकी सब्रिना राना द्वितीय, शिलशिला स्कूलकी सोफिया पौडेल तृतीय तथा सिद्धिविनायककी स्मृति सुवेदी चतुर्थ भइन्।

प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई एकता आवासीय विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रमान खत्री, निर्णायकहरू शिव श्रीपाली, उपप्राध्यापक परशुराम कोइराला, उपप्राध्यापक यादवराज उपाध्याय, एन प्याव्सनका केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट तथा एन प्याव्सन कास्कीका उपाध्यक्ष विकल पौडेललगायतले पुरस्कार वितरण गरेका थिए।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी प्रतियोगीहरूले पूर्वनिर्धारित दुईवटा विषयमध्ये गोलाप्रथाबाट छनोट भएको विषयमा प्रतिस्पर्धा गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव प्रतिभा केसीले गरेकी थिइन्।