राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिब्र विकास, शान्ति र प्रगति चाहेको बताउनुभएको छ ।
सोमवार लोकसेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकसेवा आयोगको साढे सात दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगप्रतिको अटुट जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य सुशासन, प्रभावकारी सेवा प्रवाह र मुलुकको तिब्र विकास भएको बताउनु भयो । जनताको यो आकांक्षा पूरा गर्न राज्य संयन्त्रलाई समय अनुकूल जनमुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले आयोगलाई आफ्नो कार्यसम्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउन र समयसापेक्ष परीक्षण विधि अवलम्वन गर्न सुझाव दिनुभयो । कार्यक्षेत्र विस्तारसँगै गुणस्तर कायम राख्नु र वैज्ञानिक एवं व्यवस्थित भावी योजना तय गर्नु आयोगका लागि मुख्य चुनौती रहेको उहाँले औंल्याउनु भयो । संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप योग्यता प्रणालीको रक्षा गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आयोगकै कारण मेहनती युवाहरूले लोकतान्त्रिक व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देखेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशक लामो अवधिमा योग्यता, निष्पक्षता र स्वच्छता जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुशीको विषय हो । विशेषतः निष्पक्षता र योग्यता कर्मचारी छनोटको उच्चतम कसी हो । मूल्याङ्कनको यही अन्तरायलाई अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट छ । यो भरोसा र विश्वास नै आयोगको ठूलो सम्पत्ति हो। यसलाई अझ थप सुदृढ गर्दै आयोगलाई अझ सबल बनाउन तपाईहरूको सत्प्रयास निरन्तर रहने मैले विश्वास लिएको छु । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताले चाहेको भनेकै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिब्र विकास, शान्ति र प्रगति नै हो । जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समय अनुकूल अझ जनमुखी, सेवामुखी, प्रविधि मैत्री र परिणाममुखी बनाउन जरुरी छ । स्व–उत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्छन् । प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ । यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्छ । आयोग सरकारी सेवामा कर्मचारी छनोट र भर्ना गर्ने एउटा महत्वपूर्ण निकाय हो । यसले सधैँभरि असल, उम्दा कर्मचारी छनोट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनोटमा समयसापेक्ष परीक्षण विधि र प्रविधि अवलम्वन गर्दै जानुपर्ने तर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ । यो विश्वास, भरोसा एवम् प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईहरूले विशेष मेहनत गर्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु । आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भावी योजना तय गर्नुपर्ने चुनौती छ । वार्षिकोत्सवको क्षणमा तपाईहरूले विगतको कामको समीक्षा र भावी चुनौतीलाई सामना गर्ने गरी योजना तयार गर्नु नै हुनेछ । संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनुपर्ने खाँचो छ । आयोगप्रतिको भरोसा र विश्वास एवं यसले अवलम्वन गरेको सिद्धान्त र प्रणालीका कारण मेहनती युवाहरूले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सनु हुँदैन । विगतमा हासिल गरेको अनुभव र ज्ञानसँगै विश्वव्यापी रूपमा विकसित यस सम्बन्धी सिद्धान्त र प्रणाली समेतको अध्ययनको आधारमा आफ्नो कामलाई भविष्यमा थप परिष्कृत गर्न आयोगले विशेष योगदान दिने नै छ भन्ने म ठान्दछु ।’
विगतको अनुभव र विश्वव्यापी रूपमा विकसित सिद्धान्तहरूको अध्ययन गरी आयोगले आगामी दिनमा आफ्ना कार्यहरूलाई थप परिष्कृत र प्रभावकारी बनाउने विश्वास समेत राष्ट्रपतिले व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल