स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रको विकास, लगानीको सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो । अध्यक्ष डाँगीले यस कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्यः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा तय गरिएको जानकारी दिनुभयो । उहाँले समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिवद्धतासहित ‘इप्पान भिजन २०२९’ मा उल्लेखित कार्यक्रमहरूलाई अक्षरशः कार्यान्वयन गर्ने बताउनु भयो ।
सामूहिक नेतृत्वको अवधारणालाई आत्मसात् गर्दै इप्पानले सातवटा विशेष समिति र आवश्यकताअनुसार उप-समितिहरू गठन गर्ने भएको छ । ती समितिहरूलाई कार्यसूचीसहित पूर्ण अधिकार प्रत्यायोजन गरी सक्रिय बनाइने डाँगीले उल्लेख गर्नुभयो । निःवर्तमान अध्यक्षको संयोजकत्वमा बढीमा ११ सदस्यीय सल्लाहकार समिति र ऊर्जा क्षेत्रका विज्ञहरू सम्मिलित ७ देखि ९ सदस्यीय उच्च स्तरीय विज्ञ सल्लाहकार समिति गठन गरिने उहाँको भनाइ छ ।
सरकारका पूर्वसचिवको संयोजकत्वमा गठन हुने विज्ञ समितिले ‘रिसर्च एण्ड डेभलपमेन्ट’ (अनुसन्धान र विकास) मा काम गर्नेछ । यस समितिले विद्युत विधेयक र वन विधेयक लगायतका विकास निर्माणमा बाधक रहेका कानून तथा नियमावलीहरूको अध्ययन गरी संशोधनका लागि सरकार र संसदीय समितिहरूसँग समन्वय गर्नेछ । अध्यक्ष डाँगीले वैदेशिक सहयोगमा बन्ने कतिपय विधेयकहरूले निजी क्षेत्रलाई संकुचित पार्न सक्ने भन्दै इप्पान आफैँले पनि विधेयकको मस्यौदा तयार पारी सरकारलाई बुझाउने र दबाब सिर्जना गर्ने योजना रहेको बताउनु भयो ।
ऊर्जा क्षेत्रप्रति समाज र सरकारी संयन्त्रमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न ऊर्जा उद्यमीहरूको आचारसंहिता तयार गरिने भएको छ । झन्डै ७० लाख जनताको लगानी रहेको यस क्षेत्रलाई मर्यादित बनाउन विज्ञहरूको सल्लाहमा आचारसंहिता निर्माण गरी साधारण सभाबाट स्वीकृत गराइने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सिमित नराखी प्रशारण, वितरण र व्यापारमा समेत सहभागी गराउन विशेष ‘दृष्टिकोण पत्र’ तयार पारिने उहाँले बताउनु भयो ।
इप्पानलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसहित प्रत्येक सदस्यलाई युजरनेम र पासवर्डमार्फत तथ्याङ्क हेर्न सक्ने व्यवस्था मिलाइने भएको छ । आगामी अधिवेशनदेखि अनलाइन मतदान प्रक्रिया शुरु गरिने प्रतिबद्धता समेत अध्यक्ष डाँगीले दोहो¥याउनु भयो । यस्तै सचिवालयलाई व्यवस्थित बनाउन आफ्नै भवन निर्माण गर्ने र त्यसका लागि जग्गा वा रकम सहयोग गर्ने दाताहरूको नाममा भवन र हलहरूको नामकरण गरिने योजना अघि सारिएको छ ।
नेपालको ऊर्जा क्षेत्रको ब्राण्डिङ गर्न विदेश समन्वय उप–समिति गठन गरी अवैतनिक दूतहरूसँग समन्वय गरिने र अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गरिने भएको छ । जलविद्युतका साथै सौर्य ऊर्जा, ग्रिन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यासलाई प्रोत्साहन गर्ने नीति इप्पानले लिनेछ । छिमेकी मुलुक भारत, चीन र बंगलादेशका लगानीकर्ताहरूसँग अनुभव साटासाट गर्न नियमित कार्यक्रमहरू सञ्चालन गरिने अध्यक्ष डाँगीले उल्लेख गर्नुभयो ।
अध्यक्ष डाँगीले निर्वाचनका दौरान देखिएका वैचारिक भिन्नताहरूलाई अन्त्य गर्दै इप्पान अहिले पूर्ण रूपमा एकतावद्ध भएको स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल