काठमाडौं महानगरपालिकाले चाल आर्थिक वर्षको बजेट ४५ प्रतिशत खर्च गरेको छ ।
काठमाडौं महानगरपालिकाको नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रश्तुत गर्नेक्रममा चालु आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिनुभएको हो । उहाँकाअनुसार जेठ मसान्तसम्म कुल बजेटमध्ये ११ अर्ब २९ करोड २९ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ, जुन बजेटको ४५ प्रतिशत हो । पुँजीगत खर्चतर्फ ५ अर्ब ५२ करोड ६८ लाख १९ हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । उक्त रकम विनियोजित बजेटको ३५.५९ प्रतिशत हो । त्यसैगरी चालु खर्चतर्फ ६०. १३ प्रतिशत अर्थात ५ अर्ब ७२ करोड ६१ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । उहाँकाअनुसार चालू आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट छुट्याइएको थियो । बजेट कार्यान्वयनका लागि आन्तरिक स्रोत तथा बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने तथा नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजश्व बाँडफाँटमार्फत ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको थियो ।
उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । बजेट कार्यान्वयनका लागि आन्तरिक तथा बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने र नेपाल सरकार र प्रदेश सरकार सशर्त, समानिकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान थियो । चालू आर्थिक वर्ष २०८२÷८३ मा घटित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमहरुका बाबजुद बजेट कार्यान्वयनतर्फ हेर्दा कुल बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये जेठ मसान्तसम्ममा कुल खर्चमा जम्मा ११ अर्ब २९ करोड २९ लाख ३८ हजार रुपैयाँ भएको छ । जुन कुल बजेटको ४५ प्रतिशत हुन आउँछ । यसमा पुँजीगत खर्चतर्फ ५ अर्ब ५२ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ । यो विनियोजित बजेटको ३५.५९ प्रतिशत हो । चालू खर्चतर्फ ९ अर्ब ५२ करोड ३० लाख ५९ हजार रुपैयाँ विनियोजन भएकोमा ५ अर्ब ७२ करोड ६१ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । यो अङ्क कुल बजेटको ६०.१३ प्रतिशत हो ।’
उहाँकाअनुसार चालू आर्थिक वर्षमा आर्थिक विकास क्षेत्रका लागि विनियोजित ६९ करोड ४९ लाख ८१ हजार रुपैयाँमध्ये २३.४ प्रतिशत खर्च भएको छ । सामाजिक क्षेत्रमा विनियोजित ६ अर्ब ३० करोड ९५ लाख ५३ हजार रुपैयाँमध्ये ४१.३८ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासतर्फ विनियोजित ११ अर्ब ४१ करोड ७ लाख ६९ हजार रुपैयाँमध्ये ४३.६५ प्रतिशत रकम खर्च भएको उहाँले जानकारी दिनुभयो । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा विनियोजित ३ अर्ब ४४ करोड ६ लाख ६६ हजार रुपैयाँमध्ये २३.८४ प्रतिशत खर्च भएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ विनियोजित ३ अर्ब २५ करोड ८३ लाख ७० हजार रुपैयाँमध्ये ८३.४२ प्रतिशत खर्च भएको छ । कार्यवाहक नगरप्रमुख डंगोलले असार मसान्तसम्ममा चालू आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगति उत्साहजनक रहने अपेक्षा व्यक्त गर्नुभयो ।
९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन
महानगरले चालु आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ६९ करोड ९९ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जेठ मसान्तसम्ममा महानगरले आन्तरिक आयतर्फ ५ अर्ब ५० करोड ८८ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । समग्र राजस्व संकलनको प्रगति लक्ष्यको ६४.१७ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । आन्तरिक आयतर्फ भने लक्ष्यको ५४.४० प्रतिशत प्रगति हासिल भएको महानगरले जनाएको छ । महानगरले आन्तरिक राजस्व असुलीको लक्ष्य १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ सहित चालू आर्थिक वर्षमा कुल १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
उहाँले भन्नुभयो, ‘राजश्व आम्दानीतर्फ आन्तरिक राजस्व असुलीको लक्ष्य १० अर्ब १२ करोड ६४ लाख रुपैयाँसहित चालु आर्थिक वर्षमा जम्मा १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । जसमध्ये जेठ मसान्तसम्ममा कुल ९ अर्ब ६९ करोड ९९ लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । जसमध्ये आन्तरिक आय अन्तर्गत ५ अर्ब ५० करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको छ । समग्र प्रतिशतमा हेर्ने हो भने कुल आम्दानीको लक्ष्यअनुसार प्रगति ६४.१७ प्रतिशत हुन आउँछ । आन्तरिकतर्फ कुल लक्ष्यको ५४.४० प्रतिशत प्रगति भएको देखिन्छ ।’
चालू आर्थिक वर्षमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ लक्ष्यको ७६.०९ प्रतिशत रकम प्राप्त भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो । उहाँकाअनुसार आन्तरिक अनुदान, समानीकरण तथा सशर्त अनुदानतर्फ लक्ष्यको ९२.०४ प्रतिशत रकम प्राप्त छ । असार मसान्तभित्र राजश्व संकलनमा थप उल्लेखनीय वृद्धि हुने उहाँले बताउनु भयो ।–न्युज एजेन्सी नेपाल