यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वको पदस्थापनः आन्दोलनभन्दा वार्ता र नीतिगत सुधारमा जोड

.

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि संगठनलाई विधिसम्मत ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । अध्यक्ष सिटौलाले निर्वाचनको लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको उल्लेख गर्दै पराजित भएका उम्मेदवारहरूलाई पनि साथमै लिएर अगाडि बढ्ने बताउनु भयो । उहाँले निर्वाचनका क्रममा देखिएका मतभेदलाई बिर्सेर सम्पूर्ण व्यवसायीहरूलाई एकजुट हुन आह्वान गर्नुभयो । अध्यक्ष सिटौलाले महासंघका जिम्मेवार पदाधिकारीहरूलाई आफ्नो पदीय दायित्व र मर्यादाअनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले विगतमा स–साना समस्याका लागि पनि सिधै केन्द्र वा अध्यक्षलाई फोन गर्ने परिपाटी रहेको चर्चा गर्दै अबदेखि जिल्ला र प्रदेशस्तरका समस्याहरू सम्बन्धित तहकै समन्वयमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ७७ वटै जिल्ला र प्रदेशका संयोजक तथा पदाधिकारीहरूलाई आफ्नो कार्यक्षेत्रभित्र सक्रिय रहन र सांगठनिक पदानुक्रम पालना गर्न उहाँले निर्देशन दिनुभयो । यातायात क्षेत्रको सुधारका लागि सडक आन्दोलन र विवादभन्दा पनि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिइने महासंघको नीति रहेको सिटौलाले स्पष्ट पार्नुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संसदीय समितिहरूसँगको समन्वयमा यातायात ऐन, कानून, लाइसेन्स प्रणाली र बिमा नीतिको परिमार्जनका लागि पहल भइरहेको जानकारी दिनुभयो । सरकारले हालै बजेटमार्फत दुर्घटनामा मृत्यु हुनेका लागि १० लाख रुपैयाँ बिमा रकम घोषणा गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष सिटौलाले उक्त रकम मात्र पर्याप्त नभएको बताउनु भयो । दुर्घटनामा घाइते हुनेहरूको उपचार र सोसम्बन्धी कार्यविधिको अभावमा व्यवसायीहरूले अझै पनि सास्ती खेप्नुपरिरहेको उहाँको भनाइ थियो । बीमा नीतिका अस्पष्टता र घाइतेको उपचार खर्चका विषयमा सरकारसँग थप घनिभूत छलफल गरिने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यातायात क्षेत्रमा धेरै समस्या छन्, त्यसैले सबै विषयमा विस्तृत रूपमा बोल्न समय पर्याप्त छैन । तर आज म एउटा महत्वपूर्ण कुरा राख्न चाहन्छु । देशभरिका व्यवसायी साथीहरूले अत्यधिक मतका साथ हामीलाई नेतृत्वको जिम्मेवारी दिनुभएको छ । केही साथीहरू प्राविधिक कारण र थोरै मतान्तरका कारण निर्वाचित हुन सक्नुभएन । उहाँहरूलाई पनि साथमै लिएर अगाडि बढ्ने मेरो प्रतिवद्धता छ । यस अवसरमा लामो समयदेखि यातायात क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका हरिचरण केसीलगायत सबै साथीहरूको योगदानको सम्मान गर्न चाहन्छु । लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो, त्यसलाई स्वीकार गर्दै अब हामी सबै एकतावद्ध भएर अघि बढ्नुपर्छ । सम्पूर्ण पदाधिकारी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई साक्षी राखेर भन्न चाहन्छु–हामीलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ। प्रत्येक पदाधिकारीले आफ्नो जिम्मेवारी बुझेर काम गर्नुपर्छ र संगठनात्मक संरचनाअनुसार जिल्ला, प्रदेश हुँदै विषयहरू केन्द्रसम्म ल्याउने अभ्यास विकास गर्नुपर्छ । सरकारसँग हाम्रो सम्बन्ध सहकार्य र संवादमा आधारित हुनेछ । हामी आन्दोलन र टकरावभन्दा पनि छलफल, समन्वय र नीतिगत सुधारको बाटोमा अघि बढ्नेछौँ । प्रधानमन्त्री कार्यालय, संसदीय समिति तथा मन्त्रालयसँग भएका छलफलहरू सकारात्मक छन् र यातायात क्षेत्र सुधारका लागि सरकारबाट सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ । यातायात क्षेत्र अहिलेको अवस्थाबाट चल्न सक्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ । त्यसैले ऐन, नियम, लाइसेन्स प्रणाली, बीमा नीति तथा सडक सुरक्षासम्बन्धी विषयमा आवश्यक सुधारका लागि सरकारसँग निरन्तर संवाद गर्दै व्यावहारिक समाधान खोज्नेछौँ ।’
नेपालको यातायात क्षेत्र अब पुरानै ढर्राबाट चल्न नसक्ने निष्कर्ष निकाल्दै अध्यक्ष सिटौलाले सरोकारवाला निकायहरूसँग मिलेर छिट्टै नयाँ नीति र योजनासहित अगाडि बढ्ने घोषणा गर्नुभयो । उहाँले व्यवसायीका हकहितका लागि महासंघ सधैँ क्रियाशील रहने प्रतिवद्धता समेत दोहो¥याउनु भयो ।–न्युज एजेन्सी नेपाल