काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
महानगरपालिकाको नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको अनुमानित बजेट प्रश्तुत गर्नुभएको हो । महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ तथा ७५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा संचित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । यसमध्ये महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान छ । त्यस्तै संघिय सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो । जनसहभागिताबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत अर्थात १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ संचित कोषमा व्यय भार पर्ने र ७५ करोड रुपैयाँ अन्य बाह्य व्यय भार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्न चाहन्छु । आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ । जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण, राजश्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता बापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ । क्षेत्रगत रूपमा हेर्दा प्रश्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रश्ताव गरिएको छ । त्यसैगरी कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रश्ताव गरिएको छ ।’
महानगर क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्राथमिकतामा राखिएको नगरप्रमुख डंगोले बताउनु भयो । फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवद्र्धन, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमता अभिवृद्धि तथा ‘एक वडा, एक नमूना उद्यमशीलता कार्यक्रम’ मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । प्रदूषण न्युनिकरण, सार्वजनिक यातायात व्यवस्थापन, ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्वका मठ, मन्दिर, बहाल, बही, पोखरी, हिति, ननी, चोकलगायत सम्पदा संरक्षण तथा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । नवयुवा सहकार्य तथा ‘लर्न ह्वाइल यु लर्न’ कार्यक्रम र जनयुद्ध तथा अमर प्रहरीहरूको नामावलीसहित स्मारक निर्माणका लागी बजेट व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा युवा केन्द्रित स्वरोजगार युवा केन्द्रित रोजगार कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी नवयुवा सहकार्य र अर्न ह्वाईल यू लर्न कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । जेन्जीसहित तथा अमर प्रहरीहरूको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ ।’
अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरका कारण हिँडडुल गर्न नसक्ने महानगरबासीलाई घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको उहाँको भनाई छ । बहालमा लिइएका तथा दिइएका घरजग्गाको विवरण दर्ता प्रक्रिया सरल बनाउने तथा एकीकृत करदाता परिचयपत्र कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ । करदातालाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र मालपोत तथा नापी कार्यालयबाट प्राप्त हुँदै आएको भूमि व्यवस्थापन सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
महानगरले सामूहिक आवास निर्माणको बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्षका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ भने सुकुम्बासी समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न वित्तीय प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो । महानगर अस्पताल निर्माणको बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्षका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ । टोलटोलमा योग अभ्यास कार्यक्रम सञ्चालन गरिने भएको छ । ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ भने क्यान्सरजस्ता असाध्य रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘सामूहिक आवास निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत निर्माणको पहला वर्षका लागि रु ५ करोड विनियोजन गरिएको छ । सुकुम्बासी समस्या समाधान गर्न विशेष कार्यक्रम सञ्चालनका लागि वित्तीय प्रबन्ध गरिएको छ । महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि रु ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । टोल टोलमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक निमोनिया खोपका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । क्यान्सर जस्ता असाध्य रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि रु २ करोड रकम विनियोजन गरिएको छ । निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको छ। सुनिकपा विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न रु ५० लाख छुट्टाइएको छ ।’
एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख डंगोलले जानकारी दिनुभयो । यस्तै सुनिकपा विश्वविद्यालय स्थापना गर्न आवश्यक कानूनी तथा व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ । महानगर क्षेत्रभित्रका निजी तथा सार्वजनिक भौतिक संरचनाको बीमा प्रवद्र्धन कार्यक्रम, नगर–नगर साझेदारी कार्यक्रम, रात्रिकालीन यातायात सेवा, पिउने पानीका लागि वाटर एटिएम तथा सार्वजनिक शौचालय व्यवस्थापनका लागि समेत बजेट व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । पशु बधशाला निर्माण तथा एग्रो पुलिङ कार्यक्रमका लागि बजेट छुट्याइएको छ ।
काठमाडौंमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गरिने भएको छ । वागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाडौँलाई सांस्कृतिक सहर घोषणा गर्ने तयारीका लागि आवश्यक व्यवस्था गरिएको प्रमुख डंगोलको भनाई छ । महानगरले विपद् व्यवस्थापनलाई थप प्रभावकारी र स्रोतसाधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजन, २०८३ र बढ्दो तापक्रमको प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयनका लागि पनि बजेट छुट्याइएको छ । नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा चराचुरुङ्गीका लागि पानी पात्र निर्माण गर्ने महानगरले जनाएको छ । ‘प्लास्टिक झोला मुक्त काठमाडौँ’ अभियानअन्तर्गत वैकल्पिक झोला अभियान सञ्चालनका लागि पनि रकम विनियोजन गरिएको छ ।
महानगरले आगामी आर्थिक वर्षमा वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रुपैयाँ, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड रुपैयाँ, सामाजिक विकासमा ४९ करोड रुपैयाँ, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड रुपैयाँ, हरियाली प्रवद्र्धनमा ४३ करोड रुपैयाँ, सूचना प्रविधिमा ४१ करोड रुपैयाँ, स्वास्थ्य सेवामा ७० करोड रुपैयाँ तथा विपद् व्यवस्थापनमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । –न्युज एजेन्सी नेपाल