उपाध्यक्ष पौडेललाई बिना शर्त रिहा गर्न माग गर्दै एमालेले भन्यो–सरकार एमाले केन्द्रित भइ पूर्वाग्रही बनिरहेको छ, यो ठिक भएन

.

प्रतिपक्ष दल नेकपा एमालेले सरकार एमाले केन्द्रित भइ पूर्वाग्रहपूर्ण ढंगले प्रश्तुत भएको निष्कर्ष निकालेको छ ।
मंगलवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव लेखराज भट्टले बताउनुभएको हो । उहाँकाअनुसार सरकार एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढंगले प्रश्ततु भएको छ । सरकारका यि गतिविधिहरु उचित होइनन् । उहाँले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी गैरकानूनी र प्रतिशोधमूलक एवं पूर्वाग्रही भएको एमालेले निष्कर्ष निकालेको बताउनु भयो । पार्टीको एक कार्यक्रममा सुर्खेतमा रहनुभएका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी सार्वजनिक सवारीमार्फत काठमाडौं ल्याइएको थियो । जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र यो विषय नपर्ने पनि एमालेले बताएको छ । यस प्रकाकार सरकारका गतिविधि तत्काल बन्द गर्न र पार्टी उपाध्यक्ष पौडेललाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।
उहाँले भन्नुभयो, ‘आजको बैठकको मुख्य एजेण्डा एउटै थियो । हाम्रो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको निष्कर्षमा यो गिरफ्तारी गैरकानूनी, प्रतिशोधमूलक र पूर्वाग्रही छ । उहाँ काठमाडौँ आउने टिकट लिएर काठमाडौंमै आउँदै हुनुहुन्थ्यो । तर हिजो नै सुर्खेतमा उहाँलाई गिरफ्तार गरिएको छ । जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र यो विषय पर्दैन भन्ने हाम्रो ठहर छ । त्यसैले यो प्रक्रिया कानूनसम्मत छैन । आज अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गर्दै हिरासतमा राख्ने आदेश दिएको छ । यो निर्णय अपेक्षित थिएन र न्यायोचित पनि भएन भन्ने हाम्रो धारणा छ । त्यसकारण पार्टीको यस विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता प्रकारका गतिविधिहरू तुरुन्त बन्द गरिनुपर्छ र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बिना शर्त रिहाइ हुनुपर्छ भन्ने पार्टीको स्पष्ट माग छ । पार्टीले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ । हालका लागि सचिवालयको एउटै माग छ–उहाँको बिना शर्त रिहाइ हुनुपर्छ । यो गिरफ्तारी प्रतिशोधमूलक, पूर्वाग्रही र गैरकानूनी रहेको पार्टीको निष्कर्ष छ । आजको बैठकले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । आगामी दिनमा कानूनी लडाइँ लड्ने विषय आफ्नो ठाउँमा छँदैछ । त्यसका अतिरिक्त आवश्यक कदमहरूबारे पनि पार्टीले समयानुकूल निर्णय लिनेछ । आजको बैठकको निष्कर्ष के हो भने, एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढंगले गरिएका यस्ता गतिविधिहरू उचित होइनन् ।’
पार्टीले कानूनी लडाइँ लड्ने र अतिरिक्त आवश्यक कदमहरूबारे पनि पार्टीले समयानुकूल निर्णय गने बताएको छ । –न्युज एजेन्सी नेपाल