करातेकी एरिका र उसुका विजय एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी

.

करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएकन छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड २०८२ बाट पुरुषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाडी भएका हुन् । काठमाडौंको ठमेलमा आयोजना भएको कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक, संघ तथा खेल पत्रकारलाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो । उत्कृष्ट प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ सम्मानित भए । उत्कृष्ट संघको अवार्ड नेपाल कराते संघले जित्यो । युवा खेलाडीतर्फ महिला विधामा टेनिसकी सिभाली गुरुङ र पुरुषमा बक्सिङका नोर्बु थेन्डुप शेर्पा सम्मानित भए । पत्रकारिता क्षेत्रतर्फ उत्कृष्ट स्पोट्र्स जर्नालिस्ट (लेखन) अवार्ड अजय फुयालले हात पारे । फोटो पत्रकारको अवार्ड सुदर्शन रन्जितले प्राप्त गरे भने उत्कृष्ट अनलाइन पत्रकारको अवार्ड सरिता श्रेष्ठ पुरस्कृत भए ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलगायतले अवार्ड प्रदान गरे । उक्त समारोहमा नेपाली खेलकुदको विकास र योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्व तथा संस्थाहरूको पनि विशेष सम्मान ( प्रेसिडेन्ट रिकग्निसन) बाट सम्मान गरिएको थियो । नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष, शरदचन्द साह मेमोरियल फाउण्डेसन, थन्डर बोल्ट्स एकेडेमी तथा बागमती प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य–सचिव सूर्यलाल भण्डारीलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
एनओसीले खेलाडी, प्रशिक्षक, खेल संघ तथा खेल पत्रकारिताको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । चौथो संस्करणको यस अवार्डले नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तित्व र संस्थाहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । –न्युज एजेन्सी नेपाल