प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्नुपर्ने बहस भएको छ ।
समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दलाई हटाएर अन्य उपयुक्त शब्द राख्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले ‘वेश्यावृत्ति’ शब्दलाई विस्तारै अन्य कानूनबाट पनि हटाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्ञानु पौडेलले विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाएर त्यसको सट्टा ‘इच्छाविपरित यौन कार्यमा लगाउने’ वा ‘यौन शोषण गर्ने’ जस्ता शब्द प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले विधेयकमा ‘वेश्यावृत्ति’ शब्दलाई भने राख्न नहुने उल्लेख गर्नुभयो । यस्तै उहाँले मानव बेचविखनमा अंग तस्करीलाई पनि समेट्नपर्ने सुझाव दिनुभयो । हाल विभिन्न अंगहरुको तस्करी हुँदै आएको उहाँको भनाई छ । अंग तस्करीलाई पनि मानव वेचविखन सम्बन्धी कानुनमा समेट्न पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो वेश्यावृत्ति शब्दलाई परिवर्तन गर्न आवश्यक छ । विधेयकमा वेश्यावृत्ति शब्द धेरै प्रयोग भएको छ, यसैलाई अल्टरनेटिभ हामीले अर्को शब्द गर्दाखेरि कुनै प्रकारको फाइदा लिई वा नलिई यौन शोषण गर्ने वा इच्छा विपरित यौन कार्यमा लगाउने भनेर लेख्नुपर्छ । यसले वेश्यावृत्ति शब्दलाई स्पष्ट पार्छ । वेश्यावृत्तिको ठाउँमा अल्टरनेटिभ यो हो नै भन्नु पर्दैन, इच्छा विपरीतको यौन कार्य भनेपछि स्पष्ट हुन्छ ।’
नेकपा एमालेकी सांसद एसुदा बरालले विधेयकबाट वेश्यावृत्ति शब्द हटाउनुपर्ने भएपनि कानूनमा प्रयोग हुने शब्दको अस्पष्टताले भविष्यमा पीडितभन्दा पीडकले कानुनी व्याख्याको लाभ लिन नहुनेमा जोड दिनुभयो । अन्य ऐनमा समेत प्रयोग भएको शब्द परिवर्तन गर्दा त्यसको समग्र कानूनी प्रभावबारे अध्ययन गर्नुपर्ने उहाँको भनाई छ । भावनात्मक बहसभन्दा कानुन कार्यान्वयनका क्रममा पीडितलाई पर्न सक्ने असरलाई प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने उहाँको भनाई छ । शब्दको गलत व्याख्या गरी पीडक उम्किने अवस्था आउन नदिन समिति सचेत हुनुपर्ने उहाँको भनाई छ । उहाँले नेपालमा देहव्यापार या यौन पेशा नै कानून विपरित रहेकोले यसलाई सोहीअनुसार समेट्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो शब्द हटाउनुपर्छ, तर शब्दलाई यहाँ परिवर्तन गर्दैगर्दा अरु ऐनमा पनि यी शब्दहरु छन् । सबै ऐनमा भएका शब्दहरु हटाउनुपर्छ भन्ने कुराहरुमा लागु हुन्छ भने यो कुरालाई हामीले परिवर्तन गरौँ । होइन भने यसलाई चाहीँ सोच्नुपर्ने स्थिति आयो । धेरै वटा ऐनमा प्रयोग भएका हुनाले भोलि ती पीडितहरूलाई हामीले लेखेको शब्दले फेरि अर्को समस्या हुन्छ कि ? समितिले यो विषय धेरै वृहत रूपमा छलफल गरेर इमोशन भन्दा पनि भोलि जनतालाई, पीडितलाई हुने समस्यालाई सम्बोधन गर्नको लागि बनाइने कानुनहरू हुन् । यो सुन्दै अलि अप्रिय अर्थ छ । तर त्यसलाई अरु ऐनमा पनि भएका शब्दलाई परिवर्तन गर्न सकिने हो भने यो विषयमा वृहत छलफल गरेर अगाडि बढाउँ । सकिँदैन भने यो विषयलाई भोलि कानूनमा बाझिन्छ भने पीडकले अलिकति अर्थ खोज्ने हो नि त । त्यही अर्थ लगाएर पीडितलाई झन् पीडित बनाइन्छ ।’
नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले वेश्यावृत्ति, देहव्यापार र यौन शोषण फरक अर्थ बोकेका शब्द भएको बताउनु भयो । आर्थिक उपार्जनका लागि स्वेच्छाले यौन व्यवसायमा संलग्न हुने र जबर्जस्ती यौन कार्यमा लगाइने अवस्थालाई एउटै शब्दले समेट्दा कानूनी अन्योल उत्पन्न हुन सक्ने उहाँको भनाई छ । उहाँले वेश्यावृत्तिको वास्तविक शाब्दिक अर्थ र यौन शोषण तथा देहव्यापारसँगको भिन्नताबारे थप अध्ययन र छलफल आवश्यक रहेको बताउनु भयो । शब्दको अस्पष्टताका कारण न्याय सम्पादनका क्रममा दोहोरो मापदण्ड सिर्जना हुन सक्ने र त्यसको मार पीडितले खेप्नुपर्ने हुनसक्ने उहाँको चिन्ता छ ।
उहाँले भन्नुभयो, ‘वेश्यावृत्ति र यो देहव्यापार र यौन शोषण भन्ने शब्द फरक फरक हो । संस्कृतमा पनि वेश्यावृत्ति नै रहेछ । यसको एक्चुअल ठ्याक्कै वेश्यावृत्तिको अन्य अर्थ डिक्सनरीहरुमा नपाइएको अवस्था छ । जबर्जस्ती यौन शोषण भन्ने शब्द पनि फरक हो र वेश्यावृत्ति फरक हो । जस्तो स्वेच्छाले आर्थिक उपार्जनसहित यौन पेशामा लागेकोहरुलाई के भन्ने ? आफ्नो खुशीले गर्ने पेशा त वेश्यावृत्ति नै भयो । देहव्यापार पनि त्यसलाई भन्न मिलेन । यौन शोषण पनि भन्न मिलेन । वेश्यावृत्तिको एक्चुअल अर्थ छैन । न्याय पाउने बेलामा दोहोरो मापदण्ड भएर गाह्रो हुन सक्छ । पीडितलाई एकदमै गाह्रो हुने भएकोले वेश्यावृत्तिको एक्चुअल अर्थ र यौन शोषण देहव्यापारको शब्दहरु अझै बहस गर्नुपर्छ ।’
समिति सभापति आकृति अवस्थीले विधेयकमा राखिएका शब्दावलीले कानूनी रूपमा दोहोरो अर्थ लाग्न नहुने बताउनु भयो । नेपालको कानुनले यौन व्यापारलाई वैधता नदिएको अवस्थामा वेश्यावृत्तिलाई ‘जबर्जस्ती यौन व्यवसायमा लगाउने’ भन्ने शब्द प्रयोग गर्दा स्वेच्छाले यौन व्यवसाय गर्न पाइने भन्ने अर्थसमेत लाग्न सक्ने उहाँको भनाई छ । शब्द परिवर्तन गर्दा विधेयकको मूल उद्देश्य र सजायको व्यवस्थामा असर पर्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले शब्द हटाउनुपर्ने भएमा त्यसको विकल्प र त्यसले पार्ने कानुनी प्रभावसहित संशोधन प्रस्ताव ल्याउन सांसदहरुलाई आग्रह गर्नुभयो । कानूनमा प्रयोग हुने ‘वा’, ‘र’ तथा ‘अथवा’ जस्ता शब्दको व्याख्याका कारण पनि दोषीले सजायबाट उन्मुक्ति पाउने अवस्था आउन दिन नहुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘नेपालको कानुनले यौन व्यापारलाई लिगल गरेको छैन । विधेयकमा वेश्यावृत्तिलाई जबर्जस्ती यौन व्यवसाय या देह व्यापारमा लगाउने भन्ने भन्यौ भने यसको गलत अर्थ जान पुग्छ । उसको इच्छा छ भने त यौन व्यापार गर्न पाइयो भन्ने बुझिन्छ, त्यहाँ दुइटा अर्थ लाग्यो । शब्दावली प्रयोग गर्दा लुपहोल हुने, सजाय दिने क्रममा पीडितले अझै पीडा हुनेगरि राख्नु हुँदैन ।’
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पनि ‘वेश्यावृत्ति’ शब्दको विकल्पबारे सोच्न मन्त्रालय सकारात्मक रहेको बताउनु भयो । उहाँले उक्त शब्दको सट्टा कुन शब्द उपयुक्त हुन्छ भन्ने विषयमा मन्त्रालय र कानुन मन्त्रालयबीच समेत छलफल भएको जनकारी दिनुभयो । तर निष्कर्षमा पुग्न नसकेको उहाँको भनाई छ । समितिले उपयुक्त विकल्प सुझाएमा मन्त्रालय त्यसलाई विधेयकमा समावेश गर्न तयार रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले पनि वेश्यावृत्ति शब्द हटाउन मन्त्रालयमा विभिन्न चरणमा छलफल गरेका थियौँ, यसको विकल्पमा कुन शब्द राख्दा उपयुक्त हुन्छ भनेर कानुन मन्त्रालयमा पनि हामीले छलफल गरेका थियौँ, तर हामीले नै निष्कर्षमा ल्याउन नसकेको कारणले गर्दा समितिमा आएको छ । अब सबैजनाले यसको विकल्पमा यो शब्द राख्नुपर्छ भन्ने आएमा हामी समावेश गर्न तयार छौँ, हाम्रो यसमा फरक धारणा छैन । तर यो शब्दको सट्टामा कुन शब्द राख्दा उपयुक्त हुन्छ भन्ने कुरामा हामीलाई भन्दिनुप¥यो । हामी राख्नको लागि सकारात्मक छौँ ।’
विधेयकको दफा ३ को उपदफा ४ मा प्रयोग भएको वेश्यावृत्तिमा शब्दमा सांसदहरुको संसोधन प्रश्ताव गरेका हुन् । मूल ऐनको दफा २ को खण्ड (ङ) संसोधन गर्नको लागी उक्त उफदफामा ‘शोषण’ भन्नाले दास वा बाँधा बनाउने वा त्यस्तो हैसियतमा राख्ने, वेश्यावृत्तिमा लगाउने, विद्युतीय वा अन्य कुनै माध्यम प्रयोग गरी वा नगरी यौन शोषण गर्ने, प्रचलित कानूनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा जबरजस्ती श्रममा लगाउने कार्य सम्झनु पर्छ भन्ने उल्लेख छ ।
वेश्यावृत्तिमा शब्दको सट्टामा प्रयोग हुने उपयुक्त शब्द नभेट्याएपछि समितिले विधेयकको उक्त दफालाई तत्काल पारित नगरी थप अध्ययन र छलफल गर्ने भएको छ । समिति सभापति अवस्थीले सांसदहरू तथा मन्त्रालयलाई उपयुक्त शब्दावली र त्यसको कानूनी प्रभावबारे थप अध्ययन गरी विकल्प प्रस्तुत गर्न आग्रह गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल
‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द !