अयोध्या–जनकपुरधामबीच हवाई सेवा सञ्चालन गर्न तथा भारतीय गाडीलाई २४ घण्टा भन्सार छुट दिन मुख्यमन्त्री यादवको आग्रह

.

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेलसँगै हवाई सेवा पनि सञ्चालन प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गर्नुभएको छ ।
अयोध्या–जनकपुरधाम साप्ताहित रेल सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मंगलवार उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुनु केही वर्षअघि भारतीय प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणको परिणाम भएको भन्दै उहाँहरुलाई धन्यावाद समेत दिनुभयो । उहाँले सीमावर्ती भारतीय नागरिकलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी ठूलो संख्यामा भारतीय नागरिक जनकपुरधाम आउने भएकाले उनीहरूलाई २४ घण्टासम्म भन्सार छुट दिनुपर्ने उहाँको माग छ । उहाँले जनकपुर–अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध रेल सेवामार्फत थप विस्तार हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा शुरु हुनु केही वर्ष पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीज्यूको जुन भ्रमण भएको थियो त्यसैको उपज हो । तर  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र नेपालका प्रधानमन्त्री बालेन्द्र साहज्यूलाई मेरो अर्को एउटा अनुरोध पनि छ रेलसँगै अयोध्यादेखि जनकपुरधामसम्म हवाई सेवा पनि सञ्चालन गर्नुपर्यो । अर्को, सीमाक्षेत्रका भारतीय नागरिकलाई समेत २४ घण्टाको भन्सार छुट दिन पनि माग गर्न चाहान्छु । भारतीय क्षेत्रबाट भारतीय गाडीको प्रयोग गरेर धेरैभन्दा धेरै नागरिक आउने भएको कारण उहाँहरुलाई भन्सार छुट दिनुपर्छ । यो कुरा मैले धेरै पहिले देखि भन्दै आएको छु ।’
उहाँले अयोध्या र जनकपुरबीचको सम्बन्धलाई रेल सेवाले अनन्तकालसम्म एक सूत्रमा बाँध्ने उहाँको विश्वास छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले अयोध्या–जनकपुरधाम रेल कनेक्टिभिटीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको रेल सेवाले अयोध्या र जनकपुरधामलाई जोड्दै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रेल सेवाले दुवै धार्मिक नगरीको पर्यटन व्यवसायलाई उकास्नुका साथै जनकपुरधाम र अयोध्याका नागरिकको आर्थिक समृद्धिमा समेत टेवा पु¥याउने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘नेपाल र भारतका सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा उद्घाटन भएको यो रेल कनेक्टिभिटीले अयोध्या र जनकपुरधामलाई जोड्ने जुन शुरुवात गर्नुभएको छ यसले हामीलाई अनन्तकालसम्म एक सूत्रमा बाँधेर यो धार्मिक र सांस्कृतिक नगरीलाई पयर्टन व्यवसायले उकास्ने विश्वास लिएका छौँ । यो हाम्रो जनकपुरधामवासी मात्र होइन अयोध्यावासी पनि यो मार्फत सुखद् सम्पन्नता पाउनुहुनेछ । भगभावन रामको दर्शन गरेर मात्र पूर्णता हुन्न, सिता नगरीमा गएर आफ्नो दर्शन पुरा गर्ने अभिलासा समेत आज रेलको माध्यमबाट हामीलाई जोड्ने कुराले हामी हर्षित र खुशी भएका छौँ ।’
भगवान रामको दर्शनपछि माता सीताको नगरी जनकपुरधाम पुगेर धार्मिक यात्रा पूर्ण गर्ने श्रद्धालुहरूको चाहना रेल सेवाले सहज बनाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल