सांसदका गतिविधिमाथि निगरानी गर्न रास्वपाको ‘पल्सआरएसपी’ डिजिटल प्रणाली

.

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रविधिबारे सांसदहरुलाई अभिमुखकिरण दिएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले प्रविधिको प्रयोगमार्फत सांसदहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने, संसदीय जिम्मेवारीलाई थप व्यवस्थित गर्ने र संसदको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको बताउनु भयो । उहाँले बैठकमा सोही विषयमा अभिमुखिकरण गरिएको बताउनु भयो । उहाँले पार्टीका सांसदहरूलाई प्रविधिमैत्री बनाउँदै समन्वयलाई चुस्त बनाउँदा कार्यसम्पादनको प्रभावकारिता बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो । सांसदहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै पदको गरिमा कायम राख्न र त्यसबाट नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण सिर्जना अभिमुखिकरणको कार्यक्रमलाई निरन्तरता दिइने सभापति लामिछानेको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पार्टीका साथीहरुलाई प्रविधिसँग नजिक राख्ने र समन्वयलाई चुस्त बनाउँदा प्रभावकारिता बढ्छ । समन्वयको प्रभावकारिता बढाउने र सांसदको रुपमा हाम्रा सांसदहरु प्रभावकारी बनून्, पदको गरिमा कायम राखून्, संसद समेत प्रभावकारी होस् र नागरिकसम्म त्यसको लाभ पुगोस् भन्ने उद्देश्शयले अभिमुखिकरण गरेका हौँ । यो निरन्तर चलिरहन्छ ।’
उक्त प्रणाली लागू भएसँगै सांसदहरुले आफ्ना गतिविधिहरु अनिवार्य रुपमा सिस्टममा अपडेट गराउनुपर्नेछ ।–न्युज एजेन्सी नेपाल