राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले विद्युतीय सवारी साधनलाई प्रोप्साहित गर्ने नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । सांसद थापाले सरकारले विद्युतीय सवारी साधनमाथि लगाइएको करको बोझले त्यसलाई उठनै नदिने अवस्था रहेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारको बजेटको व्यवस्था नगर्दा बुढीगण्डकी जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढन नसकेको पनि उल्लेख गर्नुभयो ।
सांसद थापाले भन्नुभयो,‘स्वदेशमा उत्पादन भएको विद्युतको खपत बढाउन र नेपालको पेट्रोलियम पदार्थको निर्भरता घटाउन विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ भन्ने मलाई लाग्दछ । विद्युतीय सवारी साधनमाथि लगाइएको करले स्वच्छ यातायातको हकलाई करको भारी बोझले थिच्ने काम गर्नु हँुदैन भन्ने मेरो मान्यता छ । दुधकोशी जलविद्युत आयोजनाका लागि कुनै ठोस योजना देखिँदैन । बुढीगण्डकी जलविद्युत आयोजना पैसा जुटाउन नसकेको अघि बढन नसकेको हो । ऐन नबनाएर होइन । यो बजेटको व्यवस्था नभएर हो । यसमा सरकारले विशेष ध्यान दिनु पर्दछ ।’
सांसद थापाले सरकारले विद्युत उत्पादन, वितरणको आवश्यक व्यवस्था गर्न नसकेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल