सरकार संविधान र संघीयता मास्ने दिशातर्फ अघि बढ्दैछः पुष्पकमल दाहाल

.

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाई छ । उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरु खारेज गर्ने, ट्रेड युनियन अधिकारहरु खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरु भएकाले आफूले संसदमा पनि धेरै विषयहरु बोल्ने पनि बताउनु भयो । संयोजक दाहालले सरकार गलत बाटोमा गएकाले त्यस विरुद्ध आन्दोलनमा जुर्मुराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सरकार भर्खरै बनेर केही केही काम गरेँ । सुकुम्बासी, विद्यार्थी, ट्रेड युुनियन, सीमाना भएपछि मैले एकचोटी पार्लियामेण्टमा बोलेँ । तपाईंहरुले सुन्नुभएको छ । अब फेरि बोल्दैछु । अब धेरै सामग्री तयार भएको छ । यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । खवरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आईलागेको छ । त्यो जुर्मुराउनका लागि मैले अघि भनेजस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग संघर्ष, विचार र रणनीतिलाई वेवास्ता ग¥यौँ । र, कार्यनीति दिनदिनकोमा रमायौँ । र हामी विग्रियौ । त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्दछ । मैले अरुलाई भनेर सुख पाउँदिन । किनभने ३ चोटी प्रधानमन्त्री म आफैँ भइसकेको छु । अरुलाई केही भनिन । त्यही भएर हैरान भएर मैले सबै मिलेर मलाई छिटो हटाई दिनुस् न भन्न पनि आउँछ कोही बेला ।’  
अध्यक्ष दाहालले आफूहरुले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भिर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल