सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप

.

सिद्धार्थ बैंकको मनिग्राम लुम्बिनी शाखाले किर्ते कागजातको प्रयोग गरी कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले छानबिन गर्न माग गरेका छन् ।
सोमवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले यस्तो माग गरेका हुन् । पीडितमध्येका एक दिलिप ओलीले मनिग्राम लुम्बिनी शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको भन्दै बैंकको शाखादेखि उच्च अधिकारीहरूमाथि छानबिन गर्न माग गर्नुभयो । उहाँकाअनुसार आफूले पुष्पाञ्जली एण्ड प्राइभेट लिमिटेडमार्फत एलसी (लेटर अफ क्रेडिट) सुविधा मात्र लिन खोजेको भएपनि पछि सोही प्रक्रियालाई सर्ट टर्म लोनमा रूपान्तरण गरी ७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिएको थियो । आफूले भने ५० लाख रुपैयाँ बराबर लेटर अफ क्रेडिटको सुविधा मात्र माग गरेको उहाँको दाबी छ । उहाँले कालोसूचीमा रहेको कम्पनीका नाममा १७ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको, त्यसमध्ये एउटा कर्जामा धितो र सञ्चालकसमेत नरहेको तथा किर्ते हस्ताक्षर र नक्कली कागजातका आधारमा ३ करोड ५० लाख रुपैयाँ गैरनागरिकलाई प्रवाह गरिएको आरोप लगाउनु भयो ।  उहाँले राष्ट्र बैंकको कारबाहीबाट जोगिन बैंकले पूर्वयोजनाअनुसार आफूलाई प्रयोग गरी पैसा असुल्ने खेल रचिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफूजस्तै अन्य १० जना पनि एउटै प्रकृतिको कथित किर्ते कर्जा प्रकरणको पीडित रहेको दाबी गर्दै यस्तो कार्य कुनै एक शाखाबाट मात्र सम्भव नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सबैभन्दा पहिले कारोबार गरेको पुस्पाञ्जली एण्ड प्राइभेट लिमिटेड भन्ने कम्पनीमा हो । त्यो कम्पनीमा कारोबार गर्दाखेरी हामीले कुनैपनि कर्जाको माग गरेका थिएनौँ । एउटा एलसीको कार्यक्रम भनेर अगाडि बढाएका थियौँ । तर पछि गएर त्यही एलसीलाई उहाँहरुले ओली सर्ट टर्म लोन गरेर उहाँहरुले स्वीकृत गराउनुभयो । हाम्रो डिमाण्ड जम्मा पचास लाख रुपैयाँ मात्रै थियो  । तर उहाँहरुले साढे सात करोड गराएर पहिले नै कालोसूचीमा रहेको कम्पनीमा घोटाला गरि खाएको छ । त्यो घोटाला गरिएको कम्पनीको जमिन ५० लाखको समेत छैन । उहाँहरुले १७ करोड कर्जा प्रवाह गर्नुभएको रहेछ । राष्ट्र बैंकको कारबाहीबाट बच्नको लागि हामीलाई पूर्वयोजना बनाई सुनियोजित ढंगबाट प्रयोग गरी यो घटना ढाकछोप गर्नको लागि प्रयोग गर्नुभएको रहेछ भन्ने कुरा अहिले आएर थाहा भयो । कालो सूचीमा रहेको कम्पनीको नाममा जुन १७ करोड कर्जा प्रवाह भएको छ । त्यसमा एउटामा त कुनै धितो पनि छैन, सञचालक पनि छैन, नक्कली कागजात तयार गरेर कुनै तेस्रो व्यक्तिको किर्ते हस्ताक्षर गराएर तीन करोड ५० लाख कर्जा प्रवाह गरिएको छ त्यो पनि गैरनागरिकलाई । यस्तो घोटालामा राष्ट्र बैंकको कारबाहीबाट जोगिनको लागि मलाई चाँही हतियार बनाइएको रहेछ । यो कुरा मैले बल्ल थाहा पाए । अब मेरो प्रश्न छ, कालोसूचीमा रहेको कम्पनीलाई कसरी कर्जा दिइयो ? कर्जा मात्र दिइएन राति त्यही कम्पनीको खाताबाट रातिको १२, १ बजे रकम निकाशा गरिएको छ । यसमा किर्ते हस्ताक्षरको प्रयोग र चेक समेत आफैं जारी गरेर साथै नक्कली औँठाछाप राखेर पैसा निकालिएको छ । उहाँहरुले तपाईंहरु सिद्धार्थ बैंकको नयाँ ग्राहक भएको कारण थाहा छैन भोलिको दिनमा खाता निष्क्रि हुने जोखिम रहेको र खुलाइदिने भन्दै केही खाली चेक पनि लिनुभएको थियो । केही चेक चाँही आफैंले जारी गरेर किर्ते छाप हानेर निकाल्नुभएको छ । केही चेकहरु चाहीँ उहाँहरुले हामीले नचिजेका कम्पनी र नजाने व्यक्तिहरुको खातामा पैसा पठाउनुभएको छ । र फेरि घुमाएर त्यही कालोसूचीमा रहेको कम्पनीमा लगेर पैसाको दुरुपयोग गरिएको छ । उनीहरु आफू फर्जी काम गर्ने, अनि पैसा चाँही हामीहरुबाट तिराउने ? मजस्तै अरु दश जना समेत एउटै शीर्षकको कर्जा प्रवाहको किर्ते धन्दामा ठगिएका छन् । यो जिल्लास्तरको कुनै एउटा शाखाले मात्र गर्न सक्दैन । यसमा सिद्धार्थ बैंकको हेड अफिस र सिईओदेखि सबै मिलेर सबैको रहोबरमा यो काम गरिएको छ ।’
उहाँले सिद्धार्थ बैंकको किर्ते ठगी प्रकरणमा बैंकको प्रधान कार्यालय, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत उच्च तहका अधिकारीहरूको समेत संलग्नता रहेको आशंका व्यक्त गर्दै निष्पक्ष छानविन गरी पीडितहरुलाई दिन माग गर्नुभयो । –न्युज एजेन्सी नेपाल