प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले संवैधानिक कानूनको ज्ञात नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले संविधान संशोधनको विषयलाई सरकारले सामान्य रुपमा लिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहस पत्र तयार पार्नु अपरिपक्व काम काम भएको बताउनु भयो । उहाँले संविधानले चिनेको बहालवाला प्रधानन्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन गर्न जरुरी रहेको बताउनु भयो । लोकतन्त्रको महत्वपूर्ण आधार भनेकै संवाद भएको तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो । लोकतन्त्र संवादबाट चल्छ । सहमतिबाट अघि बढ्छ । र असहमतिलाई पनि सम्मान गर्छ । तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो । राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो । तर सरकार एक्लै अघि बढ्न खोज्यो । स्मरण रहोस् खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो । सुल्टो बाटो आएका प्रधानमन्त्रीज्यूले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ । फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन । हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीज्यु लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइराखेको छ सभामुख महोदय । यो राम्रो सङ्केत पटक्कै होइन । अहिले जसरी संविधान संशोधनलाई हल्का रूपमा लिएर सरकारले संवैधानिक कानूनका ज्ञात नभएको, संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहस पत्र जसरी तयार गरिँदैछ, यो एकदमै अपरिपक्व काम भइरहेको छ भन्ने पनि हाम्रो ठहर हो । यो संविधानमा आफ्नो आसपासमा रहनुभएको संविधानमा कुनै कन्ट्रीब्युसन नरहेको या हाम्रो संविधानले चिनेको बहालवाला प्रधानन्यायाधीश या रिटायर्ड को हुनुहुन्छ ? उहाँमार्फत यो प्रक्रियाको थालनी खोज्नुपर्नेमा आज जसरी जाने कोशिस गरिराख्नुभएको छ, त्यसका प्रति हाम्रो गम्भीर ध्यान गएको छ ।’
सरकार उल्टो जुत्ता लगाएर हिँडिरहेको भन्दै उहाँले सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा नपुगिने टिप्पणी गर्नुभयो । न्युज एजेन्सी नेपाल