पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार राजधानी काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान र प्रविधिमा आधारित ज्ञान तथा सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा उहाँको जोड छ । उहाँले हाल केहीले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको निकटताबारे प्रश्न गर्ने गरेको उल्लेख गर्दै पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्नको लागि सहयोग गरिरहेको जिकिर गर्नुभयो । देशमा विकास र समृद्धि हासिल गर्न सबैले दलगत स्वार्थभन्दा माथि उठेर नयाँ पुस्तालाई सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ । मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो । विकास र समृद्धि अब ल्याउनुपर्छ । हाम्रो पुस्तालाई उहाँहरुलाई सहयोग गर्नुपर्छ । हामीसँग भएको ज्ञान र सिप हस्तान्तरण गर्नुपर्छ । र उहाँहरुसँग भएको प्रविधिमा आधारित जुन ज्ञान र सिप छ, त्यसको आधारमा मुलुकमा उपलब्ध स्रोत र साधनको ठिक ढंगले प्रयोग गरेर देशलाई समृद्ध बनाएर लग्नुपर्छ । र तपाई हामीले पनि यो वा त्यो बाहाना, यो पार्टी, त्यो पार्टी नभनि सहयोग गर्नुपर्छ । पार्टीहरु त हिजो राजनीति अधिकार र अधिकारको लडाइँको निम्ति बनाएको संगठन हो । अहिले विज्ञान र प्रविधिको यु्गमा त्यो हतियार काम लाग्छ ? त्यसकारण नयाँ हतियारसहित नयाँ पुस्ता अगाडि आउँदैछ त्यसलाई हामीले सहयोग गरेर मात्रै देशमा विकास र समृद्धि आउँछ ।’
उहाँले विज्ञान र प्रविधिको अहिलेको युगमा राजनीति अधिकार र अधिकारको लडाइँको निम्ति बनाएका राजनीतिक संगठन काम नलाग्ने दाबी समेत गर्नुभयो ।– न्युज एजेन्सी नेपाल
रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ– ‘म विकास र समृद्धिकै खोजीमा छु’