नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागबण्डा गर्ने परम्पराको अन्त्य भएको बताउनुभएको छ ।
बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले काँग्रेसले अबदेखि कतै पनि भागबण्डा नगर्ने र भाग नखोज्ने स्पष्ट पार्नुभयो । सभापति थापाले संवैधानिक निकायहरूमा भागबण्डा भन्दा पनि कार्यक्षमता र पारदर्शिताका आधारमा ‘शुद्धता’ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संवैधानिक परिषद्को विद्यमान संरचना र नियुक्ति प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । न्यायाधीश नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा हुने नियुक्तिका सन्दर्भमा अब नयाँ ढङ्गले छलफल हुनुपर्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘ हामीलाई केही पनि चाहिएको छैन । नेपाली काँग्रेस पार्टीले न आफ्नो पार्टीभित्र भागबन्डा गर्छ, न देशमा कतै भागबन्डा गर्छ । हामी कतै पनि भागबन्डा गर्दैनौँ । भागबन्डाको युग अब सकिएको छ । हामी कसैलाई भाग दिँदैनौँ, न त कसैसँग भाग माग्छौँ । हामीलाई त्यहाँ भाग चाहिएको छैन, हामीलाई त्यहाँ शुद्धता चाहिएको छ । अब प्रश्न उठ्छ–त्यो शुद्धता कसरी सुनिश्चित गर्ने ? त्यसका लागि संवैधानिक परिषद्को बनोट कस्तो हुने, त्यसलाई कसरी सुधार गर्ने, वा उदाहरणका लागि न्यायाधीशको नियुक्तिदेखि लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति कसरी गर्ने भन्ने विषयमा खुला छलफल गरौँ ।’
उहाँले संविधान संशोधनको सन्दर्भमा काँग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण बनाउँदै गर्दा यस्ता संरचनागत सुधारका विषयलाई प्राथमिकता दिने समेत संकेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल