संसदीय सुनुवाई समितिले प्रश्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई प्रक्रिया शुरु गरेको छ ।
बिहीवार बसेको समितिको बैठकले नियुक्तिका लागि प्रश्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाई प्रक्रिया अगाडि बढाएको हो । संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको छ । प्रश्तावित तीनै जना विरुद्ध समितिले १० दिन समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समिति सभापति वोधनारायण श्रेष्ठले साउन ४ गतेसम्म उजुरी दिनको लागि समय दिने बताउनु भयो । उहाँकाअनुसार साउन ५ गते उजुरी खोल्ने र दुई दिन साउन ५ र ६ गते उजुरीको अध्ययन गरेर ७ गते पहिलो सुनुवाई गर्ने तयारी छ । उजुरी धेरै परेको अवस्थामा अध्ययन गर्ने समय थप हुन सक्ने उहाँले बताउनु भयो । समितिले उजुरी आह्वानको लागि सरकारी सञ्चारमाध्यम र संघिय संसदको विद्युतीय पेजमा सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिएको छ ।
उहाँले भन्नुभयो, ‘साउन ४ गते उजुरी आह्वानको १० दिन पुग्छ, ५ गते उजुरी खोलेर ५ र ६ गते दुई दिन हामी उजुरी अध्ययन गर्छौं । ७ गते पहिलो सुनुवाई थाल्नेछौँ । अब उजुरीहरु धेरै आयो भने त्यही अनुसार अध्ययनको समय थप्छोँ, त्यो अर्को बैठकमा निर्णय गर्छौं । तर मोटामोटि तालिकाको हिसाबले ७ गते पहिलो सुनावाई गर्छौं ।’
उहाँले संसदीय सुनुवाई प्रक्रियालाई व्यवस्थित बनाउन स्ट्यान्डर्स टुल्स बनाउने जानकारी दिनुभयो । उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसायी लैजना नपाउने भएका छन् । उजुरीकर्ता आफैले उजुरीको बारेमा व्रिफिङ गर्नुपर्ने भएको छ । असक्त वा अपाङ्गता भएका व्यक्तिले भने एक जना सहयोगी लैजान पाउने समितिका सभापति श्रेष्ठले जानकारी दिनुभयो । प्राप्त उजुरीउपर छलफल गरेर सुनुवाइ समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नाम सुनुवाईको लागी सिफारिस गरेको थियो । –न्युज एजेन्सी नेपाल