राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाउनु भयो । प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा हुने उल्लेख गर्दै सीमाजस्तो संवेदनशील विषयमा प्रयोग हुने प्रत्येक शब्दले अन्तर्राष्ट्रिय स्तरमा देशको सन्देश निर्धारण गर्ने बताउनु भयो । ओलीले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मूल्य–मान्यताको स्मरण गराउँदै पार्टीको मञ्चलाई संसद भन्दा माथि राख्ने अभ्यासले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको तर्क गर्नुभयो । उहाँले सत्तापक्षका सांसदहरूको मौनताप्रति पनि प्रश्न उठाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सीमा कुनै नक्शाको रेखा मात्र होइन, यो हाम्रो इतिहास, बलिदान र सार्वभौमिकतासँग जोडिएको विषय हो । यस्तो गम्भीर विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै दिनुपथ्र्यो, तर उहाँले संसद्को सट्टा आफ्नै दलको महाधिवेशनलाई रोज्नुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा आँच पुग्दा पनि सत्तापक्षका माननीय सदस्यहरू किन मौन हुनुहुन्छ ?’
उहाँले राष्ट्रको विषयमा दलगत निष्ठा भन्दा माथि उठ्न आग्रह गर्नुभयो । इतिहासले प्रतिपक्षको भूमिका मात्र नभई सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्ने उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल