पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

.

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ठूला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ ।
काँकडभिट्टादेखि लौहीपुरसम्मको ९५ किलोमिटर सडक खण्डमा निर्माण भइरहेका ६ वटा ठूला पुलमध्ये ५ सय ८५ मिटर लामो रतुवा पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको हो । कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ ले डिजाइन गरेको यो पुल आधुनिक ‘आर्च स्टिल ट्रस’ प्रविधिमा आधारित छ । पुलको कुल चौडाइ १६.५ मिटर रहने काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले बताउनु भयो । जसमा डबल लेनसहित सर्भिस लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन ८७ देखि ९० मिटरसम्मका लामा स्पानहरू राखिएका जानकारी दिनुभयो । उहाँकाअनुसार यसमा प्रयोग गरिएको ४१० र ४२० ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो ।
पुल निर्माणका लागि आवश्यक स्टिलका सामग्रीहरू तयार गर्न निर्माण व्यवसायीले मोरङको उर्लाबारीमा उच्च प्रविधियुक्त ‘फ्याब्रिकेसन यार्ड’ स्थापना गरेका छन् । उक्त यार्डमा सीएनसी मेसिनमार्फत कम्प्युटराइज्ड कटिङ र नियन्त्रित वेल्डिङको काम भइरहेको छ । नेपालमै पहिलो पटक यति ठूलो आकारको ग्याल्भेनाइजेसन ट्याङ्क निर्माण गरी पुलका संरचनाहरूलाई खिया नलाग्ने बनाउने (ग्याल्भेनाइजेसन) काम भइरहेको छ ।
लोहेन्द्र, बक्रा र रतुवा खोलाका तीनवटा पुलहरूलाई एउटै प्याकेजमा राखेर ठेक्का लगाइएको छ । यी तीनवटै पुलको कुल निर्माण लागत करिव साढे ५ अर्ब रुपैयाँ रहेको छ । कोबेक, सीआरइजिसी र तुँदी जेभीले निर्माण गरिरहेको यस परियोजनामा स्टिलको काम चिनियाँ प्राविधिकहरूले र पिएससी गर्डरको काम नेपाली निर्माण कम्पनी तुँदीले गरिरहेका छन् ।सम्झौता अनुसार सन् २०२७ फेब्रुअरी २ सम्ममा पुलको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
प्रजापतीकाअनुसार वर्षा याममा चीनबाट स्टिल ढुवानी गर्न सडक अवरोधका कारण केही समस्या देखिए पनि अन्य प्राविधिक र समन्वयका कार्यहरू सुचारु रहेका छन् । विद्युतीय तार स्थानान्तरण लगायतका समन्वयका कामहरू सम्पन्न भइसकेका छन् । करिव ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुलले आगामी ५० वर्षसम्मको सवारी चापलाई सहजै धान्न सक्ने प्राविधिकहरूको दाबी छ । हाल प्रयोगमा रहेको करिव ५० वर्ष पुरानो पुलको विकल्पमा यो नयाँ संरचना तयार भएपछि पूर्व–पश्चिम राजमार्गमा आवागमन थप सहज र सुरक्षित हुने विश्वास लिइएको प्रजापतीले बताउनु भयो ।–न्युज एजेन्सी नेपाल