काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्णरुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् ।
टोखा नगरपालिका राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अधिवेशनमा बोल्दै उनले सरकारले रोजगारीको कमि हुदाँ देशका ५० लाख युवाहरु बाहिरिनु पर्ने अवस्था आएको उल्लेख गरे ।
राष्ट्र बैंक र सरकार रमिता हेरेर बसिरहेको भन्दै सरकारले अनुदान दिएका संस्थाहरु कामको सट्टा व्याज खाएर बसिरहेको बताए ।
उनले भने,‘देश पूर्णरुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ । देशका ५० लाख युवाहरु बाहिरिनु परेको छ । भएका कल कारखानाहरु चल्ने अवस्थामा छैनन् । बैंकको व्याज बढेको बढै छ ।
८ प्रतिशतको ऋण अहिले १६, १७ पुगेको छ । राष्ट्र बैंक र सरकार रमिता हेरेर बसेको छ । सरकारले अनुदान दिएका संस्थाहरु काम होईन पैसा जम्मा पारेर व्याज खाएर बसिरहेका छन् ।’
उनले देशको अवस्थामा सुधार ल्याउने पहिला देशको राजनीतिमा सुधार ल्याउनु पर्ने बताए । जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगटेको महिलाहरुले देश परवर्तनको लागि राजनीतिमा आउनु पर्ने उनको भनाई राखे ।
देश र जनतामा निराशा छाएको भन्दै राजनीतिक दलहरु देश र जनताको अवस्थामा होईन आफ्नो अवस्थामा बढि चिन्तित देखिएको उनको दाबी छ । उनले मसानघाटसम्म सत्तासँगै जान खोज्ने र सत्ता छोडेपछि जेल जानुपर्छ भन्ने डरले सत्ता टिकाउन लाग्नेहरुको संख्या बढ्दै गएको हुनाले देशमा राजनीतिक अस्थिरता बढ्दै गएको बताए ।