काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको सफलताको लागि नेतृत्वको आधारमा नेपाली काँंग्रेस र एमाले प्रतिष्पर्धाको नीतिमा जान जरुरी भएको बताएका छन् ।
बुधवार राजधानीमा आयोजित संसदीय लोकतन्त्रमा दलीय प्रतिष्पर्धा र सहकार्य विषयक अन्तरक्रियामा महासचिव पोखरेलले स्वच्छन्दतावादी शक्तिहरुले नेपालको भविष्यलाई अनिश्चितता तर्फ लग्न खोजेको दावी गरे । मुलुकको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरता र अराजकताले लोकतन्त्रलाई कमजोर बनाएकोले लोकतन्त्रको स्थायीत्व र सफलताको लागि काँंग्रेस र एमाले प्रतिष्पर्धाको नीतिमा जान जरुरी भएको तर्क व्यक्त गरे ।
‘स्वच्छन्दतावादी शक्तिहरु बलिया भएर जाने जसले नेपालको भविष्यलाई अनिश्चितता तर्फ लग्ने खालको अवस्था पैदा भएको छ ।नेतृत्वको आधारमा कांँग्रेस एमाले प्रतिस्पर्धाको नीतिमा जानु पर्छ । लोकतन्त्रको सफलताको लागि यो जरुरी कुरा हो । राजनीतिक अस्थिरता र अराजकताको चुनौती लोकतन्त्रलाई कमजोर बनाउँछ ।’
नेपालमा वैधानिक अर्थ व्यवस्थालाई कमजोर बनाउने वैधानिक आर्थिक प्रणालीलाई प्रवद्र्धन गर्ने नियोजित गतिविधिहरु भएको कारणले आज मुलुक मौद्रिक तरलताको चरम संकटमा परेको उनको तर्क छ ।
महासचिव पोखरेलले मिटर व्याजको रुपमा जनताले भोगिरहेको पीडा होस् या मौद्रिक तरलताको संकटमा वैँकहरुले व्याजदर वृद्वि गर्ने कुरा होस् समाजमा भएको यस्ता समस्यालाई पन्छाउन प्रमुख पार्र्टी गम्भीर भएर लाग्न आवश्यक भएको बताए ।
राज्यका गलत नीतिका कारणले वैधानिक अर्थ व्यवस्था कमजोर हुदै गएको निष्कर्ष उनको छ । उनले राज्य कमजोर हुँदा राजनीतिक दल र नागरिकका संस्थाहरु कमजोर हुने भएकोले समाजमा द्वन्द सृजना हुने र यो दुश्चक्रमा सबै पर्ने स्थिति देखिएको बताए ।