‘राष्ट्र बैंकमा जागिर पाउन भनसुन चल्दैन’

.

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउन कुनै पनि खालको भनसुन नलाग्ने बताएका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै राष्ट्र बैंकमा जागिर पाउने बताए । 

 

उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउन भनसुनको महत्व आफूले नदेखेको स्पष्ट पारे । पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए । तर, त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनलाई अघि बढाउनुपर्नेमा उनको जोड छ ।

 

पूर्वगभर्नर नेपालले व्यापार गर्नका लागि झन धेरै अध्ययन आवश्यक पर्ने स्मरण गराए ।

 

पूर्वगभर्नर नेपालले नेपालमा नपढनेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्क गरे ।