काठमाडौं – समता मिडिया सेन्टरका ३ जना महिला पत्रकारहरुले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा गर्ने भएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जातीय तथा सबैखाले विभेद अन्त्य गरी दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाहरुको भूमिका केन्द्रित गर्न ३ जना महिला पत्रकारहरुले साईकल यात्रा गर्ने भएका हुन् ।
साईकल यात्रा गर्नेहरुमा रीता बुढाथोकी,इन्दिरा विश्वकर्मा र सङ्गीता नेपाली रहेकी छन् । उनीहरुले महाकालीको कञ्चनपुरबाट यात्रा सुरु गरी झापाको मेचीनगरमा यात्रा विसाउँने छन् ।
साईकल यात्रा १८ देखि २५ दिनको हुने साईकल यात्रा संयोजक रीता बुढाथोकीले बताएकी छन् ।उनले भनिन ‘हाम्रो यात्रा नेपालको सुदूरपश्चिमको कन्चनपुरबाट सुरु भई झापास्थित मेची नगरमा पुगेर सम्पन्न हुनेछ । यात्रा १८ देखि २५ दिनको हुने यसवीचमा साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित बस्तिमा पुगेर दलित महिलाहरुसंग प्रत्यक्ष साक्षात्कार गर्नेछ । ’
महाकाली– मेची साइकल यात्राले सरकार, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारकर्मी, नागरिक समाज राजनीतिज्ञ, जनप्रतिनिधि र सञ्चार माध्यमको समेत ध्यानाकर्षण गराउन सफल हुने विश्वास उनीहरुको छ ।
साईकल यात्रा जातीय छुवाछुत र भेदभाव विरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समुदायलाई समेत जागृत गराउने उनीहरुको लक्ष्य छ ।