-ओम थपलिया
अहिले जताततै भागवत सप्ताह महात्म्य पूजा लगाउने मौसम छ र अधिकांश त्यस्ता सप्ताह र नवाह लगाउँदा एउटा न एउटा सामाजिक उद्देश्य राख्ने चलन पनि छ । म कलंकी स्युचाटार एरियामा बस्छु । एक हप्ताअघि सो क्षेत्रमा भागवत सप्ताह आयोजकका केही मित्रहरु सप्ताहको उद्देश्य र सोको लागि दानको सिलसिलामा कुरा गर्न मेरो घर आउनु भयो ।
उहाँहरुले पनि सप्ताहमा श्रद्धालुहरुबाट जुटेको कोषबाट स्थानीय मन्दिर पुनर्निर्माण गर्ने र स्थानीय विद्यालयको भवन निर्माणमा सहयोग गर्ने योजना बनाउनु भएको रहेछ । खास गरि स्थानीय विद्यालयको लागि सहयोग गर्ने कुरा सुन्दा खुसि लाग्यो । यसै बिषयमा हाहीबीच केही बेर कुरा भयो । उहाँहरुको चन्दा दानका लागि श्रद्धालुरूलाई अभिप्रेरित गर्ने तरिका भने असाध्यै रणनीतिक लाग्यो ।
उहाँहरूले श्रद्धालुहरूसँग सकेसम्म बढी दान रकमका लागि प्रेरित गर्नु हुँदो रहेछ । उहाँरूले प्रस्ताव राख्नु भएअनुसार, दान रकम न्यूनतम ५ हजारबाट उकालो लागेर व्यक्तिको आर्थिक हैसियतअनुसार लाखसम्म पनि प्रस्ताव हुँदो रहेछ । जति ठुलो रकम दान गर्न सक्यो त्यति नै ठूलो सम्मान हुने कुरा पनि थाहा पाइयो ।
अर्थात् त्यस्तो प्रस्ताव आयो । तर, उहाँहरुले मलाइ लगभग २५ हजार जतिको दानको प्रास्ताव राख्न आउनु भएको रहेछ । उहाँहरूले ब्याख्या गरे अनुसार, ५ हजार दान दिनेलाई एउटा आकर्षक अम्खोरा र एउटा रुद्रक्षको मालासहित सम्मान गर्ने, जति धेरै रकम दान दिन सक्यो त्यति बढ्दै जाँदा २५ हजारदेखि माथि एक लाखसम्म दान दिनेलाइ दोसल्ला ओढाएर पालकीमा बसाइ नगर परिक्रमा गराउने योजना रहेछ । लाख वा सो भन्दा बढी दिनेलाई त अझबढी बाजागाजासहितको सम्मान हुने नै भयो ।
यति कुरा सुनी सकेपछी आफ्नो निर्णय सुनाउनु अघि एक दुइ वटा आफ्ना जिज्ञासा उहाँहरू समक्ष्य राखेको थिएँ । मेरो जिज्ञाशा सम्बोधन गर्ने सिलसिलामा उहाँहरूबाट के थाहा भयो भने कथा वाचक अर्थात मूल पण्डित, सहायक पण्डित, बाध्यबादन टोलीसहितलाई मिष्ठान भोजन, बास लगाएतको खर्च आयोजकले व्यहोर्ने, यस अलावा उहाँहरूको सुबिधायुक्त यातायातको ब्यबस्था गर्ने ।
खास गरि कूल उठेको र दान कबोल भएको दान रकमको ४५ प्रतिशत मूल वाचकले लिने र बाँकी ५५ प्रतिशतबाट खर्च लागेको खर्च गरि बाँकी रकम तोकिएको उद्देश्यका लागि छुट्याइने रहेछ । धन्न उहाँहरूबाट यति भए पनि सूचना पाईयो अन्यथा अरुबाट त यति पारदर्शिता पनि आस नगरे हुन्छ ।
उहाँहरुबाट यति जानकारी पाई सके पछी मैले आफु यस किसिमको दान र चन्दा दिन सक्ने अबस्थामा नरहेको र यस किसिमको दान दिएर धर्म हुन्छ भन्ने कुरामा त्यति बिस्वास नगर्ने कुरा बताएँ । मैले आफ्नो अबस्थाअनुसार पूजा स्थल मै पुगेर बढीमा १ हजारसम्म भगवानको नाममा चढाउने र त्यसको लागि आफुलाई केहि नचाहिने कुरा बताए पछी केही बेर उहाँहरूबाट एक किसिमको दान रकम बढीबढाउ गर्न सौदाबाजी नै शुरु भयो ।
तर, म आफ्नो तर्क मै अडिग रहें र त्यस पछी उहाँहरू टोलको अर्को घरमा पस्नु भयो । म आफैसँग सोचमा डुबें र मैले अनुमान लगाएँ कि अहिले धर्म भित्र पनि पूँजीबादले मजैले डेरा जमाएछ । श्रद्धालुको धर्मप्रतिको आस्था र बिश्वासको बिल्कुलै महत्व रहेनछ । जसले धेरै दान दिन सक्यो उसैको महत्व बढी हुने रहेछ । अर्को तिर धार्मिक प्रबचन दिन आउने पण्डितहरु धार्मिक आस्थाभन्दा बढी कुल उठेको दान रकमको प्रतिशतको आधारमा पाउने आर्थिक लाभप्रति लक्षित भएको पाइयो ।
त्यस्ता सप्ताह र महायज्ञ गर्नेहरुले ठूला ठूला स्पीकर बजाएर वरपरका मान्छेलाइ यसरि बाधा पु¥याएका हुन्छन कि ती ७ दिन या ९ दिनसम्म हरेकले आफ्ना दैनिक काम सहजरुपमा गर्न पनि सक्दैनन् । परिक्षाको तयारि गर्नेहरु, घरैबाट भर्चुअल बैठक गर्नेहरु, सप्ताह भएको वरपरका कार्यालयहरु, विद्यालयहरू सबैको दैनिक कार्य तालिका खल्बलिएको हुन्छ । अझ कतिपय घरमा मानसिक स्थिति ठिक नभएका मानिसहरु मुटुका बिरामीहरुलाई झन् असर गर्छ ।
अब धार्मिक कार्यक्रम आयोजना गर्ने मानिसहरु पनि सच्चिनु पर्ने देखिन्छ । ठूलो आवाजमा माइक घन्काएर धर्म हुने होइन बरु पाप हुन्छ किनकि अरुलाई दुख दिनु भनेको पाप गर्नु हो । सामाजिक कार्यका लागि सहयोग गर्न चाहने मनकारी र दानीहरुले धार्मिक पण्डितहरुलाइ कमिसन खुवाएर घुमाउरो बाटोबाट सहयोग गर्नुभन्दा सिधै सहयोग गरेको अझ बढी प्रभावकारी हुन्छ र सप्ताह र महायज्ञमा ठूलो रकम दान दिनेहरुले महिनाभरि श्रम गरेर कमाएको मासिक निश्चित तलबबाट दान दिन मुस्किल छ र होला कसैले आफ्ना अरु खर्च कटौती गरेर पनि गर्लान तर ठुलो धनराशी दान दिन आम्दानीका गलत बाटाहरु समाउने सम्भावना हुने र दानको दिनसम्ममा प्रदान गरेको चन्दा वा दान रकमको आधारमा रथारोहण हुने, पालकीमा सवार हुने, नगर परिक्रमा सहित सदानको म्मान पाउने अधार्मिक प्रतिस्पर्धा हुने हुँदा मान्छेको कमाउने तरिकामा पनि गलत प्रतिस्पर्धा हुन सक्छ ।
हो, हाम्रो धर्मले गरीव दुखिको सेवा गर्नु, अन्न दान गर्नु भन्छ र हामीले सकेको आर्थिक दान पनि गर्नु पर्छ र कोही पनि भोकै नहोस भन्नका लागि अन्नदान पनि गर्नु पर्छ र दुखि, गरीव र असहायको आफ्नो गच्छे अनुसार कल्याण गर्नु पर्छ । हाम्रो धर्मले तमसोमा ज्योतिर्गमय अर्थात अँध्यारोबाट उज्यालो तिर लाग्नु पर्छ भन्छ । यस अर्थमा शिक्षाको लागि पनि दान दिनु पर्छ । तर, जहासम्म भगवानको पुजाको कुरा छ, हाम्रो धर्म दर्शनले शुद्ध मनले निःस्वार्थ भावले भगवानको आराधना गरेमा पनि भगवान खुसि हुन्छन भनेको छ, भने यस्ता महायाग्मा अर्थ दानको होडबाजी किन गराउनु प¥यो ? पौराणिक कथाअनुसार भागवत गीताको मूल जन्मदाता र प्रतिपादक भगवान कृष्ण नै हुन् र उनी कृष्ण आफ्ना भक्त सुदामाको घरमा पाहुना लाग्न जाँदा खाने कुरा नभएर अघिल्लो दिन भात पकाएको भाँडा कोट्याएर एक सिता भात खाएर अघाएर खुसि भएको कुरा पढ्न पाइन्छ ।
सोही भागवत गीता वाचन गर्ने पण्डितहरु भने भगवानको पूजा स्थलमा हजारौं रकम दान गर्न उक्साहट गर्छन र यी सबै क्रियाकलाप अबलोकन गर्दा के सिद्ध हुन्छ भने हाम्रो धर्ममा पनि पूँजीबादले मजैले डेरा जमाई सकेछ र तसर्थ हाम्रो सनातन धर्मलाइ यस्ता बिकृतिबाट र पूजीबादी अधार्मिक सोच र कर्मबाट सुरक्षित राख्नु पर्ने भएको छ ।
लेखक थपलिया( होमनेट नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ)