काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफू नेतृत्वको सरकार सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न दृढतापूर्वक अगाडि बढेको दाबी गरेका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित जनप्रतिनिधिसंगमन् फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकार सबै खाले फोहोर निर्मूल पार्न दृढतापूर्कक अघि बढेको दाबी गरे ।
उहाँले शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पार्न लागि परेको जिकिर गरे ।
उनले भने ‘हामी फोहोर व्यवस्थापनको छलफलमा छौँ। उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ। यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ।’
परम्परागत तरिकाले फोहोरमैलाको दीर्घकालीन समाधान सम्भव नभएको भन्दै उनले आधुनिक प्रविधिको प्रयोगबाट मात्रै फोहोरलाई मोहरमा रूपान्तरण गर्न सकिने बताए ।
“फोहोरलाई हामीले समस्या र झन्झटका रूपमा होइन उर्जा, मल र आम्दानीका विभिन्न स्रोत र अवसरका रूपमा बुझ्नुपर्छ। त्यसका लागि प्रविधिमैत्री सोच र योजना आवश्यक छ।” उनले भने ।
काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्नेबारे प्रधानमन्त्रीले आज सरकारका प्रतिनिधि, ल्याण्डफिल साइटका प्रतिनिधि र सरोकारवालाहरूको प्रतिनिधिसंग फोहोर व्यवस्थापनको दीर्घकालीन उपायबारे छलफल गरेका हुन् ।
नुवाकोट १ का संघीय सांसद हितबहादुर तामाङले, बैठकमा फोहोर व्यवस्थापनको दिगो समाधानबारे गम्भिर छलफल भएको जानकारी दिए ।
उनले, प्रधानमन्त्रीले फोहोरको दिगो व्यवस्थापनका लागि सरकारले नीति गत निर्णय गर्ने र १० दिन भित्रै पुन छलफल गर्ने वचन दिएको बताए ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, सहरी विकास मन्त्री सीता गुरूङ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, बिमला सुवेदी, ललितपुर महानगरका प्रमुख चिरीबाबु श्रेष्ठ, नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरू लगायत सरोकार पक्षका प्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो।
