एसईईको नतिजा सार्वजनिक : २२ हजार ४७५ ले ल्याए ए प्लस जीपीए

.

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।

 

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका मध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए ।

 

नतिजाअनुसार ए प्लस वा ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

 

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

 

आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा शर्माले यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको जानकारी दिए ।

 

देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेका थिए ।

 

जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका थिय भने प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

 

विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

 

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ।

 

त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था छ।

 

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ।

 

नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट  www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ।