राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुकेको बताउनुभएको छ । आईतवार संसदीय समितिअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिमा सभापतिको लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले सभापतिमा उम्मेदवारी दिनु लोकतन्त्रको अधिकतम उपयोग गरेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरु पनि समिति राजनीतिक भागबण्डामा लिइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले लोकतन्त्रको अधिकतम उपयोग गर्दै निर्वाचनमा भाग लिने र उपस्थिति देखाउन आएका छौँ । राजनीतिमा सधैँ दुषित खेल मात्रै खेल्नु हुँदैन, निर्वाचन प्रक्रियामा भाग लिनुपर्छ भनेर नै हामी भाग लिएका हाँै । समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिने काममा सरकार चुकेको छ । प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरु पनि समिति राजनीतिक भागबण्डामा लिइरहेको छ, यो लोकतन्त्रमा असल अभ्यास भएन ।’
सांसद पराजुलीले राजनीतिमा सधैँ दुषित खेल खेल्नु नहुने बताउनु भयो ।