चिनियाँ राजदुतको अभिव्यक्तिप्रति सांसदहरुको असन्तुष्टि

.

नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदुत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिनुभएको थियो । राजदुतको सो अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले चिनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धका बारेमा बोल्न नमिल्ने बताएका छन् । बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदुतहरुले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताउनु भयो । उहाँले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पु¥याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सबै देशका राजदुतहरुले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशील अवस्थामा रहेको छ । यसको भू–राजनीतिक संवेदनशीलता छ । यो भुराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखिकन, असंलग्न परराष्ट्र नीतिको मान्यतामा नेपाल दृढ भएको कुरालाई ध्यानमा राखिकन कसैले पनि आफ्ना बोलि, अभिव्यक्तिहरु अगाडी सार्नुपर्दछ । त्यस्तो कुरामा सबैले विचार पु¥याउन् । होइन भने एउटाको अभिव्यक्तिबाट अर्को फेरि प्रतिक्रिया व्यक्त गर्ने, नेपाल जटिलतामा फस्ने यो स्थिति नबनोस् भन्ने कुरामा सबैले ध्यान पु¥याउन् ।’

नेकपा(एमाले)का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनैपनि देशले बोल्नु राम्रो नभएको बताउनु भयो । उहाँले चिनियाँ राजदुतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारेपछि मात्रै आफूहरुले थप दृष्टिकोण राख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेपालको आन्तरिक मामिला र अन्य देशहरुको सन्दर्भमा कुनैपनि पक्षले बोल्नु राम्रो होइन । तर चिनियाँ राजदुतले के बोल्नुभएको हो, त्यो प्रष्ट बुझेर उहाँहरुसितै बुझेर वा अन्य माध्यमबाट बुझेर हाम्रो परराष्ट्र मन्त्रालयले यस सम्बन्धि प्रष्ट पारिदियो भने हाम्रो दृष्टिकोण राखौँला ।’

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने बताउनु भयो । उहाँले अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कुटनीतिको हिसाबले पनि बेठिक भएको बताउनु भयो । यस विषयमा चिनियाँ राजदुतलाई शतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘को–को राजदुतले ? कहाँको राजदुतले भन्दापनि  हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने, या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बस्नै दिनु हुँदैन । यो बेठिक हो । अन्तर्राष्ट्रिय कुटनीतिमा पनि, हाम्रो आफ्नो कुटनीतिमा पनि । कोहीपनि राजदुत । हाम्रो आफ्नो घरेलु विषय हो । आफ्नो सम्बन्धको विषय हो । सही, गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौं । त्यसमा शतर्क बनाउने, कुन सन्दर्भको हो स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालयले, सरकारले यसमा पहल गरोस् ।’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदुतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गर्नुभयो । उहाँले यो गम्भिर कुरा भएको भन्दै दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनिय नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘चीनको राजदुतको अभिव्यक्ति घोर आपत्तिजनक छ । मन्त्रीजीसँग हामीले धेरै आशा गरेका थियौँ, यहाँले पनि यहीँ आएर थाहा पाउनुभएको छ । त्यसो हुँदाखेरी भनौँ के भनौँ ? यो गम्भिर कुरा हो । दुई देशको सम्बन्धमा तेस्रो देशले त्यस किसिमको अभिव्यक्ति दिनु शोभा दिँदैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चिनियाँ राजदुतको अभिव्यक्तिको सम्बन्धमा सरकारले उहाँलाई बोलाएर सचेत गराउनुपर्ने बताउनु भयो । राजदुतहरुले अन्य देशसँगको सम्बन्धको बारेमा अभिव्यक्ति दिने कुरालाई रोक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अहिले नै हामीले सचेत गराउनुपर्छ । नोट अफ अब्जेक्शन उहाँलाई बोलाएर भन्नुपर्छ । यो कुराहरु बढ्दै गएभने अर्को राजदुतले के भन्ला, अर्कोले के भन्ला र हामी एउटा नराम्रो परिस्थितिमा पुग्छौँ । यस्तो कुरामा हामी सचेत हुनुपर्छ र यस्तो कुराहरुलाई हामीले शुरुमै रोक्नुपर्छ । यस्तो कुराहरु नगर्नुहोला भनेर सबै राजदुतहरुलाई र सबै डिप्लोम्याटिक मिशनहरुलाई परराष्ट्र मन्त्रालयले यस्तो विषयमा गम्भिर भएर उहाँहरुलाई सचेत गराउनुपर्ने आवश्यकता छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजदुतहरुले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने बताउनु भयो । यसर्थ राजदुतलाई सचेत गराउनुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘संवेदनशील भू–राजनीतिक अवस्थामा हामी छौँ । विभिन्न देशका राजदूतहरुले हाम्रो बारे, हाम्रो आन्तरिक मामिलाका बारे अथवा हाम्रो परराष्ट्र सम्बन्धहरुको बारे टिकाटिप्पणी गर्ने, त्यसमा हामीले नजरअन्दाज गर्न थाल्यौँ भने भोली भू–राजनीतिक जटिलतातर्फ मुलुक जाने छ । त्यसले थप हामीलाई क्षति पु¥याउन सक्छ । त्यसतर्फ पनि परराष्ट्र मन्त्रालयले तुरुन्तै डिप्लोम्याटिक नोट पठाओस् अथवा सचेत गराओस् ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालिन भारतका लागि नेपाली राजदुतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘चिनियाँ राजदुतको भनाई मात्र होइन परराष्ट्रमन्त्री र प्रधानमन्त्रीज्युहरु भारत जाँदा हाम्रो नेपालको राजदुतले पनि भन्नुभएको छ नि यस्तै विषयमा । चीनले के गरेको छ नेपालमा,भारतले त के–के गरेको छ? त्यसबेला छलफल गर्नुपर्दैन ? त्यो नेपालको राजदुतलाई भन्नुपर्दैन ? हाम्रो राजदुतले चीनको बारेमा टिप्पणी गर्दा के गर्दै थियो ? आज चीनले के नराम्रो बोल्यो भनेर एक, एक विषय केलाउँ न ।’

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल–भारत सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको बताउनु भयो । आगामी दिनमा यसरी अभिव्यक्ति दिने कुरामा सुधार गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘नेपाल सार्वभौम देश हो । यसले अन्य देशसँग सम्बन्ध राख्नसक्छ । यस विषयमा तेस्रो देशले बोल्नु हुँदैन जस्तो लाग्छ । नेपाल र भारतको सम्बन्धको बारेमा चीनले बोलिराख्नु जरुरी छ जस्तो मलाई लाग्दैन । आउने दिनमा त्यसलाई करेक्शन गर्नुपर्छ । यसका निम्ति परराष्ट्र मन्त्रालयले के बोल्ने, नबोल्ने संहितामार्फत् कसरी नियमन गर्ने हो त्यसमा प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’

अध्यक्ष साहले राजदुतले बोल्ने, नबोल्ने विषयहरुमा संहिता नै बनाएर राजदुतहरुलाई सचेत गराउनुपर्ने बताउनु भयो ।