विदेशमा रहेका नेपाली युवाहरुको भविष्य नसोचिकन देशको परिवर्तन सम्भव छैनः प्रधानमन्त्री

.

प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनु भयो । उहाँले विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई भोलिका उत्तराधिकार मात्र होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको छ । हामीले एकातिर युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ भने अर्कोतिर युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी छ । विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव छैन । त्यसैले यस पटक के गरी उनीहरुको हीतको रक्षा हुनसक्छ, के गरी उनीहरुको सुरक्षा र आत्मसम्मान कायम हुन्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागेको छ । विदेशमा रहेका युवाहरुको संरक्षण र आत्मसम्मानलाई अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक नेपालमा नेपाली युवाहरुको संख्या रहेका राजदुत र काउन्सिलरलाई बोलाएर समीक्षासहितको निस्कर्ष निकालिएको छ, त्यसले नयाँ उर्जा प्रदान गर्नेछ ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको बताउनु भयो । उहाँले न्युयोर्कमा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपाल जस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने बताउनु भयो । उहाँले नेपालको शान्ति प्रक्रियाका बारेमा पनि सभामा सम्बोधन गर्ने बताउनु भयो । साथै चीन भ्रमणमा नेपाल र चीनको दिव्पक्षी सम्बन्ध बिस्तार र नयाँ नाका खोल्ने र कृषि, शिक्षा, स्वास्थ्यका साथै कृषिमा आधारित उद्योग खोल्ने कुरा विशेष प्राथमिकतामा रहेको बताउनु भयो ।