‘प्रतीक’ को ‘फायर एन्ड रेन’ विशेषाङ्क प्रकाशित

.

काठमाडौँ -नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोक तथा साहित्यकार युयुत्सु आरडी शर्माले ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क ‘फायर एन्ड रेन’ (आगो र वर्षा) को आज विमोचन गर्नुभएको छ ।

 

यहाँस्थित अस्ट्रेलियाली राजदूतावासमा आयोजित समारोहमा विमोचित विशेषाङ्कमा अस्ट्रेलियाली कविलेखकका कविता, कथा र निबन्ध, चित्रहरूका साथै राजदूत भोकसँग सम्पादक शर्माले लिएको लामो अन्तर्वार्ता समावेश गरिएको छ । नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अङ्ग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एन्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषाङ्क हो जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी हुनुहुन्छ । विशेषाङ्कमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् ।

 

राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ (चट्या¬ङ) र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् । सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी नै हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषाङ्क नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने विश्वास व्यक्त गर्नुभयो । युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने पनि उहाँले बताउनुभयो ।

 

साहित्यकार तथा ‘प्रतीक’ को विशेषाङ्कका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि वास्तविक राजदूत भएको विचार राख्दै उहाँकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रस्तुत विशेषाङ्क प्रकाशन गर्न सकिएको बताउनुभयो । उहाँले सो विशेषाङ्कमा समेटिएका तीन कविता पनि वाचन गर्नुभयो । राजदूत भोकको एक उपन्यास लेखक शर्मा र साहित्यकार अमर आकाशबाट नेपालीमा अनुवाद भइरहेको जनाइएको छ ।