काठमाडौं – सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सरकारको सहयोग परियाेजना (एमसिसी) टेबल गर्ने तयारी गरेकाे छ । बैठक दिउँसाे १ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएकाे छैन, तर सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।
कांग्रेसकाे मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेकाे थियाे ।प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसिसी राेक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेकाे भूमिका के हुन्छ स्पष्ट छैन ।
सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीकाे विराेध गरिरहे पनि दबाबमा छन् । सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ । एमसीसी टेबुल गर्न नहुने बताउँदै आएका सभामुख सापकोटाले पछिल्लोसमय आफू रेफ्री मात्र भएको र निर्णायकको भूमिका त दलहरूकै हुने अभिव्यक्ति दिइसकेका छन् ।