काठमाडौं ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको १२ औं अधिवेशनको तयारी पूरा भएको बताएको छ ।
बुधवार सम्पर्क मञ्चले पत्रकार सम्मेलन गर्दै फागुन २६ गते शनिवार हुने १२ अधिवेशनको तयारी पूरा भएको बताएको हो । सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले पार्टी केन्द्रीय कार्यालय तुलसलाल स्मृति प्रतिष्ठान च्यालनमा हुने अधिवेशनको सबै तयारी पूरा भएको बताए । उनले अधिवेशनको लागि ८ वटा पालिकाबाट सदस्य संख्याको आधारमा ३०४ जना प्रतिनिधि सहभागी हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने बताए । उनले नयाँ नेतृत्वको सम्पर्क मञ्चमा कुनै विवाद नरहेकाले सर्वसहत रुपमा नेतृत्व चयन हुने विश्वास रहेको बताए । अधिवेशनमा सबैभन्दा धरै खाँडादेवी गाउँपालिकाबाट काठमाडौंमा बस्ने सदस्यमध्येबाट १११ जना प्रतिनिधि सहभागी हुने सम्पर्क मञ्चले बताएको छ ।
त्यस्तै,मन्थली नगरबाट ५१,लिखुतामाकोशी ४१,रामेछाप नगर २६,दोरम्बा शैलुङ २५,गोकुलगंगा १९,सुनापति १९ र सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाबाट १२ जना सहभागी रहनेछन् ।
त्यस्तै आयोजक कमिटी,सल्लाहकार र जनवर्गीय संगठनबाट समेत गरेर जम्मा ४३४ प्रतिनिधिले अधिवेशनमा भाग लिने श्रेष्ठले जानकारी दिए । अधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मञ्चले जनाएको छ ।