काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा खड्कालाई दोषी ठहर गरेको हो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रिय खेलकुद समिति) मा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खडकाको आइए (प्रविणता प्रमाण पत्र तह) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । छानविनका क्रममा दोषी ठहर गर्दै अख्तियारले खड्काविरुद्ध माघ १२ गते मुद्दा दायर गरेको थियो ।
खड्का १४ पुस २०५९ मा सईमा बढुवा भएका थिए । उनले माध्यामिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्त भएको अख्तियारको दाबी थियो।