संक्रमणकालीन घटनाका द्वन्द्व पीडितहरुले सरकारबाट वितरण गरिएको परिचय पत्रको मान्यता नपाएको गुनासो गरेका छन् ।
उनीहरुले सरकारले द्वन्द्व पीडितहरुलाई दिएको परिचय पत्रले कुनैपनि स्थानमा मान्यता नपाउने गरेको भन्दै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसँग गुनासो गरेका हुन् । बिहीवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आयोगमा सचिव लोकराज अधिकारीले पीडितलाई वितरण गरिएको परिचय पत्र देखाएर कहीँ पनि सुविधा र छुट नदिने गरेको गुनासो आयोगमा आइरहेको बताउनु भयो । उहाँले आयोगले हालसम्म १ हजार ३२१ परिवारका ३ हजार ९ सय ९३ जना व्यक्तिलाई पीडित परिचय पत्र वितरण गरेको बताउनु भयो । उहाँले पीडितलाई सेवा, सुविधा, सहुलियत प्रदान गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको पनि बताउनु भयो । उहाँले २०७७ साल चैत्र ६ गते गरेको सिफारिसमा विभिन्न ११ बुँदा समेटिएको भएपनि कार्यान्यनमा नआएको बताउनु भयो । उहाँले परिपूरण सिफारिस सम्बन्धित कार्यविधिको मस्यौदा तयार भएको तर अझै पनि मस्यौदालाई परिष्कृत बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आयोगले हालसम्म १३२१ परिवारका ३ हजार ९ सय ९३ जना व्यक्तिलाई पीडित परिचय पत्र वितरण गरेको छ । पीडितलाई सेवा, सुविधा, सहुलियत प्रदान गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । २०७७ साल चैत्र ६ मा । यो सिफारिस गरेको थियो । त्यो सिफारिसरमा विभिन्न ११ बुँदाहरु छन् । त्यो पनि कार्यान्यनमा नआएको अवस्था छ । पीडितहरुले के गुनासो हामीलाई गर्नुहुन्छ भने त्यो परिचय पत्र दिएको पीडितहरु जुन हुनुहुन्छ, परिचय पत्रलाई पनि सरकारको कुनैपनि ठाउँमा मान्यता दिइएन भन्ने गुनासो छ । हामीले त्यसलाई देखाउँदा मान्यता भएन । सिंहदरबारभित्र छिर्न पर्दा त्यो देखाएर नहुने भनेर स्वीकार नै गरिएन । अरुतिर पनि त्यो परिचय पत्र देखाउँदा केही पनि मान्यता दिइएन भन्ने छ । परिपूरण सिफारिस सम्बन्धित कार्यविधिको मस्यौदा तयार भएर रहेको छ आयोगमा, त्यो मस्यौदालाई अझै परिष्कृत बनाउनुपर्ने देखिन्छ । अन्तिम रुप दिन बाँकी छ ।’
उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी पूरा भइसकेपछि मात्रै आयोगले आफ्ना कामहरु पूरा गर्नसक्ने भन्दै छिटो भन्दा छिटो आयोगमा पदाधिकारी पठाउन आवश्यक रहेको बताउनु भयो । उहाँले आयोग बन्दा सक्षम, उत्तरदायी र स्वतन्त्र आयोग बनाउन संसदीय समितिले भुमिका खेल्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल